
काठमाडौं । इजरायली प्रधानमन्त्री कार्यालयले शनिबार कतारलाई हमास वा इजरायलमध्ये एकको पक्ष लिन आग्रह गरेको छ ।
हमास र इजरायलबीच मुख्य मध्यस्थकर्ता रहेको कतारले दोहोरो भूमिका खेलेको इजरायलको आरोप छ । तर, कतारले इजरायलको सो भनाइलाई उत्तेजक भन्दै अस्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले आइतबार बिहान एक्समा पोस्ट गर्दै, “इजरायली प्रधानमन्त्री कार्यालयका उत्तेजक भनाइहरू राजनीतिक र नैतिक जिम्मेवारीको आधारभूत मापदण्डभन्दा टाढा छन् । कतारले ती भनाइलाई खारेज गर्दछ ।”
अल–अन्सारीले गाजा युद्धलाई मानव सभ्यताको रक्षाको रूपमा प्रस्तुत गर्ने प्रयासलाई झुटो कथन प्रयोग गरेर नागरिकविरुद्ध अपराधलाई जायज ठहर्याउने ऐतिहासिक अत्याचारी शासनहरूसँग तुलना गरे ।
उनले अगाडि भने, “यसअघि भएका १३८ बन्दीको मुक्ति मध्यस्थताबाट भयो कि सैन्य अभियानबाट ?”
इजिप्ट र कतारी मध्यस्थहरूले हमास र इजरायलबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन् । तर, इजरायल र हमास कुनै पनि मुख्य अडानमा तलमाथि हुन तयार देखिएका छैनन् ।
दुवै पक्षले सम्झौता नहुनुमा एक अर्कोमाथि आरोप लगाएका छन् । गाजामा अझै ५९ जना इजरायली बन्दी रहेको दाबी गर्दै इजरायलले हमासले आत्मसमर्पण गर्नुपर्ने र भविष्यमा गाजाको शासन प्रशासनमा कुनै भूमिका राख्न नहुने माग गरेको छ । तर यसलाई हमासले अस्वीकार गरेको छ ।
हमासले युद्धको स्थायी अन्त्य र इजरायली सेनाको फिर्तालाई बन्दी फिर्ती सम्झौताको सर्त बनाएको छ ।