
काठमाडौं । तीन वर्षमा पहिलोपटक अर्थतन्त्र संकुचित भई मन्दीको डरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकको अर्थतन्त्र सुधार्न थप समय दिन आग्रह गरेका छन् ।
ट्रम्पले अमेरिकी अर्थतन्त्र संकुचन भएको भन्ने हालै सार्वजनिक आँकडा भ्रामक रहेको व्यवसायीसँग जिकिर गरे । कम्पनीले उनको आयात कर लागु हुनुअगाडि नै विदेशबाट वस्तु आयात गरेर जम्मा गरेका कारण यो आँकडा विश्वास गर्न नसकिने उनले बताए ।
हालै अमेरिकी वाणिज्य विभागले मुलुकको अर्थतन्त्र ०.३ प्रतिशतको वार्षिक दरले संकुचित भएको आँकडा सार्वजनिक गरेको छ । यो गएको त्रैमासिकमा २.४ प्रतिशतको वृद्धिपछिको ठूलो गिरावट भएको बताइएको छ ।
यो ट्रम्पले सत्तारोहण गरेपछिको १०० दिन पूरा हुँदै गर्दा आएको हो । यसले उनको आर्थिक नीतिमा नागरिक सन्तुष्ट नभएको देखाउँछ ।
तर, ट्रम्पले आठ ट्रिलियन डलरको विदेशी लगानी आउने वाचा भएको बताउँदै यसले अमेरिकी उत्पादन क्षमता फर्काउने दाबी गरेका छन् ।
बुधबार दिउँसो ह्वाइट हाउसमा व्यावसायिक नेताको उपस्थितिमा ट्रम्पले जीडीपीको निराशाजनक तथ्यांकका पछाडि आफू नभएर पूर्ववर्ती डेमोर्क्र्याटिक राष्ट्रपति जो बाइडेन जिम्मेवार भएको आरोप लगाए ।
राष्ट्रपति ट्रम्पले भने, “यो बाइडेनको अर्थतन्त्र हो, किनभने मैले गएको जनवरी २० मा पदभार सम्हालेको हुँ । मलाई अलिकति समय दिनुहोस्, म अर्थतन्त्रलाई गतिशील बनाउनेछु ।”
ट्रम्पको यो भनाइ आयात करको प्रतिक्रियामा आएको हो । यसले विश्वव्यापी व्यापार र बजारलाई अस्थिर बनाएको छ ।
बाइडेनमाथि आरोप लगाएपछि विपक्षी डेमोर्क्र्याट नेताहरूले ट्रम्पप्रति घृणा व्यक्त गरेका छन् । अमेरिकी तल्लो सदनमा विपक्षी दलका नेता हकीम जेफ्रिजले भने, “डोनाल्ड, यो जो बाइडेनको अर्थतन्त्र होइन, यो तपाईंको अर्थतन्त्र हो । यो ट्रम्प अर्थतन्त्र हो, यो असफल अर्थतन्त्र हो र अमेरिकी जनताले यो बुझेका छन् ।”
बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले प्रविधि, स्वास्थ्य सेवा र पूर्वाधारमा योजनाबद्ध लगानी भइरहेको प्रशंसा गरे ।
कार्यक्रममा हुन्डाईका होजे मुनोज, टोयोटाका टेड ओगावा, जन्सन एन्ड जन्सनका होकिन डुआटोजस्ता ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपस्थित थिए । बीबीसीबाट ।