
विराटनगर । प्रधानमन्त्री केपी ओलीले नेपालमा उपयुक्त वातावरण भएकाले ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन् ।
बिहीबार (वैशाख १८) विराटनगरमा कोसी प्रदेश लगानी सम्मेलन उद्घाटन गर्दै उनले भने, “नेपाल शान्त छ । खतरा छैन । धेरै विदेशी साथीहरूले भेट हुँदा आनन्द आउने बताउँछन् ।”
कोसी प्रदेश सडक सञ्जालसँग जोडिएकाले औद्योगिक उत्पादन बजारमा लैजान र कच्चापदार्थ समेत ल्याउन सहज हुने उनले बताए । उनले नेपालले आईएलओको सिद्धान्तअनुरूप काम गरेकाले आद्योगिक वातावरणमा कठिनाइ नहुने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिसँगै थप ‘कनेक्टिभिटी’ एसियालीस्तरको हुने विश्वास व्यक्त गरे । उनले भने, “हुलाकी मार्ग र मदन भण्डारी मार्गले पनि लगानीकर्तालाई सहज हुन्छ ।”
उनले उत्पादनको बजार पहाडी र हिमाली क्षेत्रसम्म हुन सक्ने बताए ।