
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रका नाममा हाल देशमा निरंकुशता र लुटतन्त्र हाबी भएको आरोप लगाएका छन् । सोमबार (वैशाख १५) काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
“अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको निरंकुशता र लुटतन्त्र हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामीबाहेक अर्को विकल्प र शक्ति छैन । सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ,” उनले भने ।
उनले सबै प्रकारका आग्रह–पूर्वाग्रह त्यागेर देशलाई निकास दिन तयार हुनुपर्नेमा जोड दिए । यसका निम्ति आफ्नो पार्टी तयार रहेको उनले बताए ।
“राजसंस्थाको आवाज उठाउने हाम्रा साथीहरूलाई खोजीखोजी कस्टडीमा राखिएको छ । लोकतन्त्र र मानवअधिकारको कुरा गर्नेहरूले चैत १५ गते लोकतन्त्र र मानवअधिकारको खिल्ली उडाए,” उनले भने ।
अलोकतान्त्रिक र मानवअधिकारविरोधी गतिविधिका विरुद्ध सशक्त गतिविधि अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो । “लोकतन्त्रको नामको लुटतन्त्रको विरुद्धमा जुटौँ । चैत १५ गतेको घटनाको न्यायिक छानबिनको लागि सशक्त आवाज उठाऔँ,” लिङदेनले भने ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजका पक्षमा गरिने सबै कार्यक्रममा राप्रपाले ऐक्यबद्धता जनाउने उनले बताए । “हामी सबै सँगै छौँ । सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ । यसमा कुनै दुविधा नरहोस्,” उनले भने ।