
काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई शिक्षकहरूले र्याखर्याखती पारेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल सोमबार आन्दोलनस्थल बिजुलीबजार पुगेका थिए । शिक्षकहरूले नेपाललाई बोल्नसमेत नदिएर प्रश्न गरेका थिए । उनीहरूले अध्यक्ष नेपाललाई ‘हामीले कुटाइ कहिलेसम्म खाने ? हामी लडेर गणतन्त्र ल्याएको तपाईंलाई प्रधानमन्त्री बनाउनमात्र हो ?’जस्ता प्रश्न गरेका थिए ।
शिक्षकहरूको भिड लागेपछि सुरक्षाकर्मीले नेपाललाई घेरा हालेर गाडी रोकेको ठाउँसम्म पुर्याएका थिए ।
नेपालको साथमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहित सहभागी थिए ।
शिक्षकहरूले राजनीतिक व्यक्तिलाई ऐक्यबद्धता जनाउन दिए पनि भाषण गर्न नदिने नीति लिएको बताएका छन् ।