
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित सडकमा यात्रुवाहक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
कास्कीको पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना७ख ११०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३, कटैयाका ३६ वर्षीय परवेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
बसको ठक्करबाट अन्सारी गम्भीर घाइते भएका थिए । हेटौँडा अस्पतालमा उपचारका क्रममा सोमबार (वैशाख १५) बिहान उनको मृत्यु भएको हो । अन्सारी ना५ख ८६६८ नम्बरको ट्रकका धनी रहेको खुलेको छ ।
सोही स्थानमा ट्रक बिग्रिएको थियो । बिग्रिएको ट्रक मर्मतका निम्ति उनले मिस्त्री बोलाएका थिए । ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको डीएसपी अर्यालको भनाइ छ ।
ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका–२ का ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस