
काठमाडौं । भारतको जीएमआर इनर्जी लिमिटेडले प्रस्तावित ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन गरेको लगानी प्रस्ताव लगानी बोर्डको बैठकमा पेस हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न लगानी बोर्ड बैठक बोलाएका छन् । बैठकको मुख्य एजेन्डा जीएमआरको वित्तीय व्यवस्थापन प्रस्ताव पारित गर्ने रहेको छ ।
जीएमआरले आयोजनाबाट व्यावसायिक उत्पादन हुने मिति कार्ययोजना बोर्डमा पेस गरिसकेको छ । बोर्ड बैठकमा माथिल्लो कर्णालीको लगानी प्रस्तावका साथै अन्य आयोजनको स्वीकृतिको विषय रहेको बोर्डका प्रवत्ता तथा सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायले बताए ।
बोर्डबाट पारित भएपछि जीएमआरलाई माथिल्लो कर्णाली आयोजना अघि बढाउन बाटो खुला हुने भएको छ ।
आयोजना अनुमति अवधि गत माघ ४ गतेसम्म भएकामा जीएमआरले माघ २ गते नै वित्तीय व्यवस्थापनको प्रस्ताव बोर्डमा पेस गरेको थियो ।
लगानी बोर्डको ६०औँ बैठकले भारतको जीएमआर इनर्जीले पेस गरेको नयाँ लगानी संरचना परिवर्तन गर्ने प्रस्ताव गत मंसिरको पहिलो साता स्वीकृत गरेको थियो ।
यसैगरी, आयोजनामा नेपाली बैंकहरूले लगानी गर्न लागेका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाइमा नेपालका बैंकहरूले ४२ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् । आयोजनामा एभरेस्ट बैंक, लक्ष्मी सन्राइज बैंक र एनएमबी बैंक छन् ।
आयोजनामा भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा)ले ६५ अर्ब भारु अर्थात् एक खर्ब ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । आयोजना बनाउन कुल एक खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ लाग्ने जीएमआरले लगानी बोर्डलाई जानकारी गराएको छ ।
जीएमआर, ९०० मेगावाटको अरूण तेस्रो आयोजना बनाइरहेको एसजेभीएन लिमिटेड र इरेडाले ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएका छन् । ७० प्रतिशत ऋण हुने गरी लगानी संरचना बनाइएको छ । यद्यपि, भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले इरेडाको स्वपुँजी योजना रोकेको छ ।
इरेडाबाट ऋण लगानी नआए विकल्पको रूपमा जीएमआरले पावर फाइनान्स कर्पोरेसन इन्डियाबाट ६५ अर्ब भारु ऋण लगानी गर्ने आशयपत्र बोर्डमा पेस गरिसकेको छ ।
आयोजनामा जीएमआर इनर्जीका साथै जीएमआर पावर एन्ड अर्बान इन्फ्रा लिमिटेड, जीएमआर जीएमआर लायन इनर्जी लिमिटेड, एसजेभीएन, नेपाल विद्युत् प्राधिकरण र जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडसँग भएको संयुक्त उपक्रम (जेभी) पेस भएको छ ।
आयोजनामा जीएमआर र एसजेभिएनको बराबर अर्थात् ३४–३४ प्रतिशत, विद्युत् प्राधिकरणको २७ प्रतिशत र इरेडाको ५ प्रतिशत स्वामित्व हुने भएको छ ।
माथिल्लो कर्णाली आयोजना बनाउन जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड स्थापना भइसकेको छ । सन् २००८ मा प्रतिस्पर्धाबाट जीएमआरले माथिल्लो कर्णाली पाएको हो ।
जीएमआरले माथिल्लो कर्णालीबाट १२ प्रतिशत निःशुल्क बिजुली र २७ प्रतिशत निःशुल्क सेयर दिने प्रस्ताव गरेपछि सन् २००८ मा माथिल्लो कर्णाली जीएमआरले पाएको हो । सम्झौताअनुसार, जीएमआरले नेपाललाई १०८ मेगावाट बिजुली निःशुल्क बिजुली दिनुपर्ने आयोजना विकास सम्झौता (पीडीए)मा उल्लेख छ ।
०७१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका बेला जीएमआर र लगानी बोर्ड नेपालबीच पीडीएमा हस्ताक्षर भएको थियो । त्यसबेला जीएमआरले दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो ।
अर्धजलाशय (पीआरओआर) प्रकृतिको आयोजनाबाट वार्षिक तीन अर्ब ४६ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४०० केभी क्षमताको १०० किलोमिटर लामो प्रसारणलाइन बनाएर भारतको उत्तरप्रदेशस्थित बरेलीमा जोड्ने योजना छ ।
आयोजनाको सुरुङको लम्बाइ तीन किलोमिटरमात्र छ । बढी ऊर्जा उत्पादन क्षमता भएकाले आयोजना आर्थिकरूपमा आकर्षक देखिएको जीएमआरले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)ले देखाएको छ ।
आयोजनाबाट उत्पादन भएपछि ५०० मेगावाट बिजुली बंगलादेशलाई बेच्न जीएमआरले बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग समझदारी (एमओयू) गरेको छ ।
साझेदार एसजेभिएनले ९०० मेगावाटको अरूण तेस्रोको काम ७० प्रतिशत सकेको छ । यस्तै, उसले ६६९ मेगावाटको तल्लो अरूण आयोजना पनि बनाउन सुरु गरेको छ । यस्तै, ४९२ मेगावाटको अरूण चार आयोजना पनि बनाउने तयारी थालको छ ।