site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कश्मीर आक्रमणको निष्पक्ष अनुसन्धान गर्न पाकिस्तानको माग

काठमाडौं । पाकिस्तानले जम्मू–कश्मीरमा भएको २६ पर्यटकको हत्याकाण्डको निष्पक्ष अनुसन्धानको माग गरेको छ । पाकिस्तानले अनुसन्धानका लागि सहयोग गर्न इच्छुक रहेको र आफू शान्तिको पक्षमा रहेको बताएको छ ।

भारतले गत मंगलबार भएको हमलामा संलग्न तीन शंकास्पद आक्रमणकारीमध्ये दुईजना पाकिस्तानी नागरिक भएको पहिचान गरेको छ । तर, पाकिस्तानले यस हमलामा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेको छ । हमलामा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।

Argakhachi Cement Island Ad

पाकिस्तानका गृहमन्त्री मोहिसन नक्वीले शनिबार भनेका छन्, “सत्य पत्ता लगाउन र न्याय सुनिश्चित गर्न पाकिस्तान निष्पक्ष अनुसन्धानकर्तासँग सहयोग गर्न पूर्णरूपमा तयार छ ।”

उनले पत्रकार सम्मेलनमा भने, “पाकिस्तान शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय नियमको पालनामा अडिग छ । तर, आफ्नो देशको सम्प्रभुतामा कुनै सम्झौता गर्ने छैन ।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भने, “पहलगामको घटनामा अन्तहीन दोषारोपण खेलको अर्को उदाहरण हो, जसको अन्त्य हुनै पर्छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारीलाई सिद्ध्याउने बथाएका छन् । मोदीले आक्रमणका योजनाकार र आक्रमणकारीलाई उनीहरूले कल्पना गरेभन्दा पनि बढी सजाय दिने प्रतिज्ञा गरेका छन् ।

यसैबीच, भारतीय राजनीतिज्ञ र अन्यबाट पाकिस्तानविरुद्ध सैन्य आक्रमण गर्नुपर्ने माग बढिरहेको छ । हमलापछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध धेरै कदम चाल्न थालेका छन् । पाकिस्तानले भारतीय एयरलाइन्सका लागि आफ्नो वायुसीमा क्षेत्र बन्द गरेको छ । भारतले सन् १९६० को सिन्धु नदी सम्झौता निलम्बन गरेको छ ।

अल्जजिराबाट ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्