
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले विधेयकमा कमी–कमजोरी भए सच्याएर पारित गर्ने ल्याकत राख्नुपर्ने बताएका छन् । शनिबार (वैशाख १३) नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले चालु अधिवेशनमा वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई ‘गाइड’ गर्ने बजेट ल्याइने बताए । यसले नै देशलाई कता, कसरी लैजाने गाइड गर्ने उनले उल्लेख गरे । राष्ट्र र जनताकेन्द्रित भएर काम गर्न उनले निर्देशन दिए ।
चालु अधिवेशनबाट धेरै विधेयक पारित गर्नुपर्ने उनले बताए । उनले विधेयक जस्तो पायो त्यस्तै पारित हुन नदिन पार्टीका सांसदलाई निर्देशन दिए । ठिक विधेयक पारित हुनुपर्ने र बेठिकले देशलाई वैचारिक, व्यावहारिक हिसाबले गलत दिशामा लैजान सक्ने उनले बताए ।
“जस्तो पनि होइन । जस्तो पनि पास गरिदिएर हुँदैन । पास गर्नु त हो नि भनेर हुँदैन । हामी अत्यन्तै चनाखो हुनुपर्दछ,” उनले भने, “देश र जनतको पक्षमा विधेयक पास गर्नुपर्दछ ।” न्युज एजेन्सी नेपाल