
म बिहान सखारै उठेर नित्यकर्म गर्छु । पाँच बजे मलाई ब्युँझाउने काम मेरो मोबाइल फोनको अलार्मको हो । आज फेब्रुुअरी १२, २०२४ मा पनि अलार्मले ब्युँझायो । उठेँ र पहिला मोबाइलबाट फेसबुक स्टाटसहरू हेरेँ । अर्जुन मैनालीले भर्खरै लेखेको स्टाटस ।
‘तारा, धेरैधेरै माया ।
आज म परमधाम जाँदै छु । सालो रमेश र उसकी श्रीमतीले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्ने प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ । जीवनभरि सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनी शान्त रहेँ । मेरी आफ्नै स्वास्नीको सामुन्ने तातो न छारोको कुरामा नामर्द, नीच, खत्तम परिवारको मानिस, संस्कार नभएको मानिसजस्ता शब्दले प्रहार गर्दा तिम्रो मनमा के भयो ? ...अब म केही क्षणमा परमधाम पुग्नेछु ।’
अर्जुनको स्टाटसले मेरो दिमागमा विद्युतीय झड्का दियो, म स्तब्ध भएँ । उसले के लेखेको होला ? सधैँ रक्तदानका विषयलाई जीवनसँग जोडेर अर्को जन्मदिनमा रक्तदान गरौँ है भनेर स्टाटस भर्ने रक्तदान अभियन्ता, समाजसेवी बुुझक्कड व्यक्तिले यस्तो के लेखेको होला भन्ने विश्वास लागेन । अचम्म परेँ, मन मानेन र फेरि पढेँ । ढिलो गरी अक्षरअक्षर नियालेर पढेँ ।
मन काम्यो । स्टाटस लेखेको केही मिनेट मात्र भएकोले कल उठाइहाल्यो भने सम्झाउँछु भनेर मेसेन्जर कल गरेँ, कलिङ मात्र देखायो । त्यति खतरनाक निर्णय गर्नेले पनि फोन उठाउँछ र ? साँच्चै बित्यास गरिसक्यो कि क्या !
मनभित्र आएको आँधीबेरी थाम्न सकिनँ, अमेरिकामा भाइ देवलाई कल गरेँ, आफन्तहरूलाई सोधेँ, उनीहरूले स्टाटस नै हेरेका रहेनछन् । मन एकतमास भयो । एउटा होनहार समाजसेवी, नेपाली डायस्पोराको सर्वाधिक चर्चित व्यक्तित्व, रक्तदान जीवनको आदर्श वाक्यबाट कैयन्को ज्यान बचाउने अर्जुनले के दुस्साहस गर्यो ? त्यत्रो अभियानको नायक कति कमजोर रहेछ अर्जुन त !
केहीअघि मेरो सेवानिवृत्तिका समयमा उसका भावनाहरू साझा गरेथ्यो, ‘कतिपयले जागिर खान्छन्, थोरैले राष्ट्रसेवा गर्छन् । नेपालको निजामती सेवामा अपवादमा देखिने अत्यन्तै सीमितमा पर्छन्, सचिव गोपी मैनाली । उनी जहाँजहाँ बसे, उदाहरणीय कामको छाप छाडेर गए । पाँच वर्षको सचिव अवधिमा नौ ठाउँमा सरुवा भए पनि निष्ठा र निष्पक्षतामा काम गरे । देश र जनताका लागि काम गर्नुपर्छ भन्ने उदाहरण दिन कहिल्यै पछि परेनन् ।’
मेरा विषयमा देशबाहिर रहेर निरन्तर नियालेकाले पनि मैले उसलाई नियालिरहेको थिएँ । दुवै स्टाटस साथसाथ पिङ खेल्न थाले ।
उसको स्टाटसमा लेखिएको कुरा असत्य होस् भन्ने कामनाबाहेक मसँग अरू थिएन । जूनजस्तो शीतल, सधैँ उज्यालो र उत्साही उर्जुनको आकृति अगिल्तिर आइरह्यो ।
म उसको गाउँले दाइ र ऊ मेरो शिष्य पनि । एउटा शिष्यले संसारभरि नाम फैलाएकोमा खुसी थिएँ । बाल्यकाल, युवा अवधि र केहीअघिसम्म उसले चलाएको अभियानका दृश्यचित्रहरू चलचित्रका मोन्टाजजस्तै मनभित्र फरर्र दौडिरहे ।
अगिल्लो महिना मात्र छोरीको विवाहमा काठमाडौं आएर विवाह कार्यक्रमपछि रक्तदान र समाजसेवाको तुफानी यात्रा गरेथ्यो । खाना खान आऊ भन्दा पनि ‘भ्याउन्नँ, चियाका लागि भने जरुर आउँछु’ भन्ने वाचा गरेको अर्जुनको यो स्टाटस ! थाहै नदिई अमेरिका गएर उल्का गर्न भ्याइसकेछ ।
स्युुसाइडल नोटको रूपमा रहेको फेसबुक स्टाटस तेस्रोपटक पढेँ । उही अक्षर, उही अर्थ । उसले आत्महत्याको अठोटसहितको योजना वर्ष दिनअघि बनाएको रहेछ । आफन्तले गाली गरेपछि उतिखेरै जीवनबाट बिदा हुने, बिदा पनि सबैभन्दा कठोर विधि आत्मदाहबाट गर्ने अठोट रहेछ ।
उसको अठोटले मृत्यु पनि कठोर, असीम पीडादायी र तत्काल प्राण हरण गर्ने हुनुुपर्छ भन्ने रहेछ । त्यसैले एउटा कारको व्यवस्था गरी कसैले नदेख्ने समय र स्थानमा कारभित्रै आगो लगाएर देहत्याग गरेछ ।
‘अग्निको बाटोबाट एक प्रतिशतभन्दा कम गएका रहेछन् । यो बाटो ज्यादै पीडादायक छ । आज म यही जाँदै गर्दा मेरो अकल्पनीय चीत्कार, दुःखले रमेश र अस्मिताको मनलाई धेरै शीतल र सहानुभूति हुन्छ नै होला ।’ उसका शब्दहरूबाट फेरि मन भक्कानियो ।
आफन्तका गाली र मानमर्दनले मानिस कति विक्षिप्त हुँदो रहेछ ! आफन्तहरूले आफ्नाको आनीबानी किन ख्याल नगरेका होलान् ? अन्तिम क्षणमा लेखेका कुराहरू अवश्य सत्य थिए ।
आफन्तको दुर्व्यवहारले ऊ भित्रभित्रै जलेको रहेछ । स्युसाइडल नोटमा कसैले असत्य लेख्दैन । जीवन नै त्याग गर्नेले नभएको कुरा किन बोल्थ्यो ?
यति बेला ऊ पक्कै अग्निसमाधिस्थ भइसकेको होला । त्यति प्रिय, परिश्रमी, मनकारी समाजसेवी र आत्मिक चिन्तन गर्ने अर्जुनले किन परिस्थितिसँग मुकाबिला नगरी आफैँ पराजित भएको होला ? किन मृत्यु समर्पणको बाटो रोज्यो ?
त्यो पनि सबैभन्दा पीडादायक आत्मदाहबाट । यसबाट के शिक्षा दिन खोजेको होला ? जे भए पनि परिस्थितिसँग सम्झौता नगरीकन, संघर्ष नगरीकन आफूलाई मृत्यु समर्पणमा छाडिदियो । न रहे बाँस न बजे बाँसुरी ! जीवन नै नभएपछि केको पीडा र गाली बेइज्जती !
ऊ त गइसक्यो । तर, मनभरि अनुत्तरित प्रश्नहरू ओहोरदोहोर गरिरहेका छन् । र, यी प्रश्नहरू सधैँका लागि रहस्यमा रहनेछन् ।
निजत्वको अनुभूति मानिसको चाहना हो । ऊ आफ्नै प्रकारले जीवन जिउन चाहन्छ । जीवनप्रति मोहभंग भएपछि न कोही आफैँलाई हत्या गर्छ । अर्जुनमा त्यस्तो केही लक्षण थिएन । देखिएको अर्जुन, खटेको अर्जुन सक्रिय, उत्साही र केके न गरौँ भन्नेमा थियो, औधी सकारात्मक थियो ।
अभिमन्यूलाई झैँ उम्किनै नसकिने गरी चक्रव्यूह पक्कै रचिएको थिएन । नाम, ख्याति, सम्पत्ति, शिक्षा सबै कमाएको व्यक्तिले मृत्युप्रति समर्पण किन रोज्यो ? आफैँलाई किन जघन्य अपराध गर्यो ?
सपना खतम भएको पनि थिएन, न उसँग उद्दाम रहरका चाङ नै भएजस्तो लाग्छ । उद्दाम रहरका महत्त्वाकांक्षीहरू छिटो निराशामा पुुग्छन् । ऊ त परिश्रम र पसिनामा हुर्केको फूल थियो, सधैँ उज्यालो, सधैँ हसिलो । लाग्थ्यो, अरूलाई सहयोग गर्न नै उसलाई सिर्जना गरिएको थियो ।
योजना बनाएर, जीवनसाथी, छोराछोरीलाई अर्ती दिएर, छोरीको विवाह सकेर, सकेजति पारिवारिक जिम्मेवारी पूरा गरी, नजानिँदो रूपमा आफन्तहरूसँग एकप्रकारले बिदा पनि लिई मृत्युमा समर्पित हुने दुस्साहस, कञ्चन सेतो कारभित्र, सेतै सर्ट लगाएर, स्वच्छताको परिचय नभुलेर अग्निसमाधि लिने यो साहस कि दुस्साहस, आत्मरञ्जन कि अपराध ?
जे होस्, अरूलाई दिन पाउँदा रमाउने, समाज, दीनदुःखी, गरिबहरूलाई सहयोग गरेर नथाक्ने जूनजस्तै शीतल र आकाशजस्तै फराकिलो हृदयको अर्जुन आफैँभित्र भने कति धेरै जलेको रहेछ ?
सामान्य विवादमा त्यो स्थितिमा पुग्नु हुन्छ ? कि नदेखिएका, आफैँभित्र लुकाइएका अरू कारण पनि थिए ? आत्महत्याले यस्ता प्रश्न रहस्यमा छाडेर जान्छ । अर्जुनको आत्मदाहका विषयमा कैयन् प्रश्न अनुत्तरित र सधैँ रहस्यको गर्भमा रहनेछन् ।
अन्तर्मुखी स्वभावका मानिसहरू भित्रभित्रै गुम्सिन्छन् । उसभित्र के पाकेको छ, अरूलाई थाहा नै हुन्न । यस्ता मानिस अजीवका र पीडादायी निर्णय गर्न पछि पर्दैनन् । विस्फोट हुन बेर लगाउँदैनन् ।
बर्हिमुखी र हसखुस मानिसहरू आफ्ना भावना अरूसम्म साझा गर्छ । छ्याङ्ङ सफा हुन्छ । अर्जुन बहिर्मुखी स्वभावको, फूलजस्तै फक्रक्क फक्रिएको थियो । समूहमा रहने, समूहमा अभियान चलाउने मानिस अन्तर्मुखी हुनै सक्दैन ।
एक वर्षदेखिको आत्मदाहको योजनाले हाम्रा अनुमान गलत भए । मनोविज्ञानको नियमलाई पनि मिथ्या साबित गरिदियो ।
सबै सुखदुःखको कारण चेतना हो । मानिस चेतना र विवेक भएकै कारण श्रेष्ठ छ । चेतना र विवेकलाई अपनाउन नसक्दा अरू प्राणी श्रेष्ठताको दाबी गर्दैनन् । यही श्रेष्ठताभित्र कमजोरी छ, गल्ती छ, ग्लानि छ । उछिनपाछिन छ, ईष्र्या अनि आरिस छ । साहस छ, सिर्जना छ र शून्य अनि निराशा छ । अरूलाई सहयोग गर्न र दुःख दिन दुवैमा मानिस अब्बल छ । आफैँलाई अवसान गर्न पनि मानिस अब्बल छ ।
मानिसबाहेक अरू प्राणी स्वेच्छाले जीवन त्याग गर्दैनन् । चेतना, बुद्धि र विवेक नभएपछि केको जीवन, केको मृत्यु ? सामान्य चेतनाले भोग र भोकको अनुभूति, सन्तान र साथीको संरक्षणबाहेक अरू प्राणी जीवनको दाबी गर्दैनन्, त्यसैले दुःखी पनि हुँदैनन् । आत्महत्या पनि गर्दैनन् । बुद्धि र विवेक कम हुँदा विचरण, विश्लेषण पनि गर्न सक्दैनन् ।
उसो भए आत्महत्याको कारण विवेक र विचरण हो, सोच र संवेदना हो । भावना र भावावेश हो । त्यसैले अर्जुन असीम भावावेशमा आत्मदाह गर्न पुग्यो ।
बुद्धि र विचरणको खास परिस्थितिमा सामर्थ्यले मानिस भावावेशमा आउँछ र चेतनाभन्दा परको कठोर निर्णय गर्न बेर लगाउँदैन । मानसिक रूपमा मानिस केही अंशमा पागल पनि हो । आफ्नै परिस्थितिको चक्रव्यूह, आन्तरिक छटपटीबाट उम्किन नसकिने अवस्थामा पुगेपछि आफैँप्रति पनि अनिष्ठ निर्णय गर्ने दुस्साहसमा पुुग्छ ।
देखिने कारण जेजस्ता भए पनि उदासीनता, उग्र निराशा, हीन मनोभावना, शून्यता र नकारात्मकताको असीम आँधी आफैँभित्र उम्लिएपछि मानिस आफैँप्रति खनिने रहेछ, चिथोर्ने रहेछ, टोक्ने रहेछ । जहाँतहीँ आफूलाई छाड्ने रहेछ, मर्ने रहेछ र मार्ने रहेछ । संसार शून्य अँध्यारो भएपछि हुनु र नहुनु के फरकमा पुुग्दो रहेछ ।
अर्जुुनको निर्णय जघन्य दुस्साहस हो । यो आफूलाई आफैँले जस्तो सजाय दिए पनि हुन्छ भन्ने निष्कर्ष हो । आत्महत्या गर्नेहरू आफूलाई अन्तिम दण्ड दिएर अरूलाई दण्डमुक्त गर्दछन् । घायल प्रेमीहरू प्रेमका नाममा उत्सर्गस्वरूप आफैँलाई अवसान गर्छन्, उनीहरूको अर्थमा अमर प्रेमले यसै गर्छ ।
असीम दुःखका मानिस आफ्ना कारण अरूलाई दुःख, हैरानी नपरोस् भनी स्वेच्छाले जीवनबाट बिदा लिन्छन् । विकल्पहीन परिस्थितिमा पुुगेपछि आशा र उज्यालो नदेख्ने अवस्थामा आत्महत्या गर्दछन् । स्वेच्छाले मृत्युवरण गर्ने शक्ति मानिसमा नभएकोले आत्महत्याको विकल्प बाँकी रहेको हो । अर्जुन यसको अपवाद होइन ।
आत्महत्या कसैको पनि इच्छा वा उद्देश्य हुँदैन । इच्छा, इरादा पूरा नभएपछि जीवनको बाटो शून्य र जतासुकै चकमन्न अँध्यारो भएपछि त्यही कमजोर अवस्थामा मानिस आफैँलाई विसर्जन गर्न बेर लगाउँदैन ।
तर, अर्जुुनको स्थिति त्यो थिएन । संघर्षका दिनहरू समृद्धितर्फ लम्किएका थिए । पहिचान र प्रतिष्ठा फराकिएर सबै महादेश फैलिएको थियो । कतिपय अफ्रिकी–एसियालीहरूको बुुझाइमा अर्जुन गरिबहरूको भगवान् थियो । न्युयोर्क सरकारले अर्जुन मैनाली दिन घोषणा गरेर उसको रक्तदान जीवनदान अभियानलाई सम्मान गरेको थियो ।
‘तिमी किन विशेष छौ’ विद्यार्थी प्रतियोगिता अभियानले युवाहरूमा सेवा भावना फैलाएको थियो । अब ऊ गरिब, बिमारीको मनबाट विद्यार्थीको मनमनमा पुुगिसकेको थियो ।
हो, प्रत्येक युवाले आफूलाई विशेष सम्झेर काम गरे भने संसार स्वर्ग हुुन्छ । युवा हुनु आशा र उत्साहको विम्ब, पहाड फोड्ने अवस्था हो । उसको अभियान यसैतर्फ लक्षित थियो । समाजसेवातर्फको अमेरिकी राष्ट्रपति लाइफटाइम अचिभमेन्ट पनि उसलाई अर्पण गरिएको थियो ।
उसले रक्तदान अभियानका विषयमा किताब लेख्यो, अरूले उसका विषयमा किताब लेखे । ऊ कथाको पात्र र कविताको श्लोकमा पनि फैलियो । जीवनको मध्यभागमा पुुग्दा नपुुग्दै संघर्षका दिन सम्मानमा पुगेका थिए । महाभारत शृंखलाको सानो सिपाली गाउँबाट सबै महादेशमा पुगेको थियो ।
अब ऊ नेपाली मात्र थिएन, विश्वबन्धुत्व र मानवसेवाको सगरमाथाजस्तै उचो थियो । रक्तदान जीवनदान, गिफ्ट अफ लाइफ नेपालका विद्यालयहरूमा निःशुल्क पुगेका थिए । सामाजिक सञ्जाल अर्जुनको जीवनदान अभियानलाई गोलाद्र्धका कुनाकुना पुर्याइरहेको थियो ।
व्यस्तताबीच सरल, शान्त र शालीन उपस्थिति उसको व्यक्तित्व थियो । सरलता, सक्रियता र समर्पणले उसको संगतमा पुग्ने नतमस्तक थिए ।
सामान्य कारणले महान् मानिस किन आत्मदाह गर्न पुुग्यो ? संसारलाई मानवता र मनकारी बाटो देखाउनेले आफैँप्रति जघन्य अपराध गर्नुहुन्थ्यो र ? उसको रक्तदान जीवनदान अभियानले संतृप्ति पाउन अझै बाँकी थिएन र ?
जन्मेपछि मानिस आफैँप्रति पनि स्वाधीन हुँदैन, ऊ समाज अंग हुन्छ । सामाजिक परिवेशले बढाए, हुर्काएको हुन्छ । उसको सामाजिक दायित्व, पारिवारिक दायित्व र त्योभन्दा ठूलो आत्मिक दायित्व भुलेर आफैँलाई अग्निवेदीमा स्वाहा पार्नु सर्वथा अनुचित थियो । अनुचित मात्र होइन, अपराध थियो ।
ऊ आफैँले भनेको छ, ‘मानिस किन जन्मिन्छ मलाई थाहा छैन, तर मर्ने बेलासम्म गरिने सत्कर्म नै समुुदायको सम्पत्ति हो ।’ कति धेरै अर्जुन चाहिने निमानवीकृत विश्वसमाजमा अर्जुनले आत्मदाह गरेर आफू, समाज र विश्वलाई नै अन्याय गर्यो ।
आफैँले आफैँलाई नाश गरेको अन्तिम समय पनि पूर्वबोध गरेको छ, ‘तिमी धेरै असल श्रीमती रह्यौ । छोराछोरी पनि असल नै भए । घर, जागिर पनि राम्रो थियो । नराम्रो मानिसको कुदृष्टि पर्यो । सबै सत्यानाश भयो । अब मैले बारम्बार जन्म लिनु नपरोस् ।’
यी अन्तिम वाक्यले असीम निराशा, मेलानकोली, अत्यासलाग्दो मानसिक पीडाका कारण उसले आत्मदाह गरेको सहज अनुमान लगाउन सकिन्छ । यी अन्तिम वाक्यमा कताकति जीवनप्रतिको अनुराग पनि छिपेको छ । तर, एउटा विन्दुमा लिनुपर्ने सामान्य निर्णयमा ऊ कमजोर रह्यो र एक वर्षदेखि आत्मदाहको योजनामा रह्यो ।
त्यो अव्यक्त असीम पीडालाई विरेचन गर्न सकिन्थ्यो, सिर्जनाको निकासमा डाइभर्ट गर्न सकिन्थ्यो । तर, त्यसो भएन । नेपाली मनमुटुको मनकारी विश्वमानव सधैँका लागि सखाप भयो ।
महान् व्यक्तिहरू जीवनको एउटा मोडमा असाध्यै कमजोर अवस्थामा मृत्यु समर्पणमा पुुगेका कैयन् उदाहरण छन् । राजीखुसीले जीवन त्याग गर्नेहरू धेरै छन्, विकल्पहीन सन्नाटामा पुुगेर जीवनलाई बर्बाद गर्नेहरू कैयन् छन् । तीमध्ये धेरै त भावनामा बग्ने कवि, स्रष्टा, कलाकार, सेलिब्रिटीहरू छन्, केही महान् नेता र योद्धा छन् । अरूलाई अर्ती उपदेश दिने र समाजसेवाको बाटो देखाउनेहरू नै धेरै छन् ।
प्रकृतिसँग दङदास रमाउने कवि सिल्भिया प्लाथले आफ्नै हत्या गरिन् । ‘मलाई सबैभन्दा डरलाग्दो कुरा कल्पनाको मृत्यु हो’ भन्ने सिल्भिया वास्तविकतामा मृत्युलाई नडराई अँगाल्न पुगिन् ।
चेतनाको प्रवाहलाई साहित्यमा अभिव्यक्त गर्ने असाधारण शक्ति भएकी भर्जिनिया उल्फले (चेतना गुमाएर ?) आत्महत्या गरिन् । प्रेमका गुरु कहलिएका भर्ने ट्रोएरले प्रेम गर्न सकेनन् र आत्महत्या गरे । प्रेमका गुरुले न प्रेमिकालाई प्रेम गर्न जाने न आफैँप्रति प्रेम गर्न सके ।
सौन्दर्य, साहस र शासनकलाकी साम्राज्ञी क्लियोपेट्राले आफ्नो प्रसिद्धि रजगजमा आँच आउने भएपछि आफैँले जीवन समाप्त गरिन् । सम्राट भएर पनि जनताको पीडामा रमाउने, कविता, गीतसंगीतमा बिन्दास मस्ती गर्ने निष्ठुर नीरो सिनेटले उनलाई राष्ट्रिय शत्रु घोषणा गरी पदच्युत गरेपछि त्यसको पीडा सहन नसकी आत्महत्या गर्नपुुगे ।
नाम सुन्दा पनि मन कमाउने विश्वविजय अभियानका नाजी तानाशाह एडोल्फ हिट्लर आफैँलाई गोली हानेर बिदा भए । नोबेल विजेता अर्नेस्ट हेमिङ्वेले आत्महत्या गरे । उनको छ अक्षरको हालसम्मकै छोटो सूत्रकथा ‘फर सेल ः बेबी सु नेभर वर्न’ विश्वविख्यात छ ।
अघिल्लो दशककी सर्वाधिक नशालुु गायिका मार्लिन मुनरो आफू रोगविरुद्ध लड्न सक्दिनँ कि भन्ने भयमा आफैँ बिदा भइन् । कुस्तीबाज बेनोइटले कतिलाई पराजित गरे, तर आफ्नै भावनाबाट पराजित भई आत्महत्या गरे ।
रेप इन नानजिङ (नानजिङको बलात्कार)मार्फत जापानी सेनाको ज्यादतीको चित्र उतार्ने आइरिस चाङ आफैँभित्रको हीनभावनाबाट हारेर आफ्नो ज्यान लिन पुगिन् ।
भारतीय सिनेकर्मी र विचारकहरू परवीन बबी, प्रत्युषा बेनर्जी, सुशान्त सिंह, नासिक जोसेफ, असिफ बासरा, नितिन देशाई, विवेक धवागी, दिव्या भारतीहरूले आफैँले आफूलाई मृत्युमा पुर्याए ।
सबैलाई हँसाएर नथाक्ने हास्यसम्राट भैरव अर्याल भित्रभित्रै रोइरहेका रहेछन्, आत्महत्याको बाटो रोजे । शत्रुलाई परास्त गर्ने शक्तिका रथी बलदेवराज महतले पनि अर्यालकै बाटो रोजे ।
यम बुद्धका ब्रान्डमा चम्केका नेपाली र्यापर अनिल अधिकारी र युवा ढुकढुकी बनिसकेकी श्रीषा कार्कीले यस्तै बाटो रोजे र जीवनलीला समाप्त गरे ।
मृत्यु अन्त्य होइन भन्ने मान्यतामा प्राचीन पश्चिमी समाजमा युद्धमा देहत्याग गर्ने चलन थियो । ट्रोजनको युद्ध हारेका अजक्स महान्ले पराजयको पीडामा आत्महत्या गरेको किंवदन्ती छ ।
तर, आधुनिक समाज आत्महत्यालाई स्वीकार्दैन । संसारलाई सिर्जना, साहस र सत्कर्मको बाटो देखाउने अर्जुनहरू आफ्नै जीवनबाट किन हारिरहेका छन् ? वा जीवनलाई हराइरहेका छन् ? अरूलाई जित्नभन्दा आफैँलाई जित्न महागाह्रो रहेछ । आत्महत्याको मनोविज्ञान किन समाजमा थिग्रेर बसेको छ ? कसले भन्ने ?
बाँच्नु मानिस (प्राणी)को नैसर्गिक प्रक्रिया हो । मानिस चेतना, सोच र विवेक शक्तिका कारण बाँच्ने, बचाउने र माया गर्ने कलामा पोख्त छ, यही दायित्वमा छ । आफूलाई बचाउनु स्वाभाविक काम र आत्मिक कर्तव्य हो । तर, ऊ आफू मात्र बाँच्दैन, सन्तान, साथी, संगाती र अरूहरूलाई माया गर्छ, आदर गर्छ । जीवनको अन्तिम पलसम्म आशा र उत्साह राख्छ ।
यो प्रक्रियामा मानिसको पूरै जीवन उत्सव हो । कति प्राणीहरू जन्मेकै छैनन्, न हामी चाहेर जन्मेका हौँ । जन्मिनु आफैँमा अवसर हो, जन्मिसकेपछि त्यो सधैँ उत्सव हो ।
मानिस बाल्यकालमा सपनामा उत्सव मनाउँछ, जवानी परिपक्वतामा साहस र संघर्षमा उत्सव मनाउँछ र वृद्ध हुँदै जाँदा स्मृतिका तरेलीमा उत्सव मनाउँछ । बाल्यकाल उद्दाम रहरमा नपौडिएको भए जवानीमा प्रजननशीलता र सामाजिक प्रजननशीलता हुँदैन थियो, न वृद्धावस्थाको स्मृतिका स्वादहरूका आधार नै बन्ने थिए ।
मानिसको पूरै जीवन उत्सव हो, जसले त्यसो गरेनन् आफैँमाथि अपमान गर्यो । जीवनलाई अपमान गर्यो ।
मानिस उत्सव मात्र मनाउँदैन, रुन्छ पनि । मनलाई माझ्न (विरेचन गर्न) रुने गर्छ । त्यसैले मानिस खुसीमा पनि रुन्छ, दुःखमा पनि रुन्छ । आफैँसँग रुन्छ, एकान्तमा रुन्छ । चिच्याएर, दाह्रा किटेर वा मौनतामा पनि रुन्छ । अरूसँग पनि रुन्छ ।
मन मिल्ने साथी अर्कोको रुवाइको साक्षी हो । साथी नभए प्रकृतिमा रुन्छ, अक्षरमा रुन्छ । अभिनयमा रुन्छ, गीतगानामा रुन्छ, पसिनामा रुन्छ । शब्द पारखीहरू मेलानकोली किताब कृतिमा रोएर पाठकलाई रुवाउँदै मन पखाल्न सघाएका छन् ।
मन पखाल्ने अभियानका उदास आइतबारमा रोएका बिल्ली होलिडे, रेज्सो सेरेसहरूले युवाहरूलाई मनदेखि रुवाएर घायल बनाए । कतिपय त गीतमार्फत मृत्युलीन पनि बने ।
रुन नजानेको मानिस जिन्दगीलाई जिउन पनि जान्दैन, उत्सव मनाउन पनि सक्दैन । सापेक्षिकताले रुनु पनि अर्को कोणबाट उत्सवको सन्दर्भ हो । रुनु संवेग र उहापोहको अभिव्यक्ति हो ।
अरूप्रति वा आफ्नै स्थितिप्रति माया र कर्तव्यका मानिसहरू समानुुभूतिमा संवेगित भएर रुन्छन्, आफैँलाई विरेचित गर्छन् । अर्जुनले आफ्नै स्थितिप्रति संवेगित भएर आफैँलाई विरेचित किन गरेन ? विश्वका हजारौँ मानिसको दुःखमा रुने अर्जुन आफ्नै स्थितिप्रति किन रुन सकेन ?
के उसको दुःखमा साथ दिने साथी थिएनन् र दुःखमा सुनाएर रुन सकेन ? पार्कको बीचमा वा पहाडको फेदीमा चिच्याएर किन रोएन ? जीवनको तिर्खा सकिएको भए पनि आफूलाई असरल्ल बिन्दास छाडेको भए हुने नि !
मानिस मनबाट बढी प्रभावित हुँदो रहेछ, मस्तिष्कबाटभन्दा पनि । मस्तिष्कका संवेग र भावावृत्तिलाई पनि मनले हल्लाउँदो रहेछ । मनलाई नियन्त्रण गर्न नसक्दा मानिस मानसिक रूपमा पनि विक्षिप्त बन्छ ।
मस्तिष्कबाट सुरु भएको उद्वेग/संवेगहरू मनको फराकिलो मैदानमा रमाएर खेल्छन् । मनमा दुर्भावना आएर मस्तिष्कले नियन्त्रण गर्न नसकेर त अर्जुनले आत्महत्या गरेन ? मनलाई अक्षरमा पोखेको भए पनि रिफ्रेस हुने थियो नि ! के भएर आत्महत्या गर्यो ?
उसको स्टाटसका अक्षरहरू मात्र आत्महत्या बताउन काफी छन् र ? आत्महत्या गर्नेले सबै कुरा रहस्यमा छाडेर जान्छ । अनुुभूति साझा गर्ने सम्भावना नै रहँदैन । हामीले दुस्साहसी भनेर गाली गर्ने वा च्वच्व भनेर सहनुुभूति दिने विकल्प मात्र बाँकी छ ।
मृत्यु मनसँग सम्बन्धित छैन, मस्तिष्कसँग पनि सम्बन्धित छैन । मृत्युले मन र मस्तिष्कलाई एकैचोटि सकेको हुन्छ । आत्महत्यामा भने मनमस्तिष्कले मानिसलाई मृत्युमा पुुर्याएको हुन्छ ।
अर्जुनले त्यसै गर्यो । उसले मनोचिकित्सा वा मनोविश्लेषण दुवै गरेन । मनोविकारलाई बताएर, विरेचन गरेर, गाएर, लेखेर वा व्यस्त भएर गरेन । यसो गर्छु भन्ने वर्षअघिको अठोटले मनभरि विक्षिप्तताको आवृत्ति भने बढाउँदै लगेको थियो होला र यति जघन्य घटना घट्यो ।
जीवन प्रकृतिको अमूल्य उपहार हो । प्रयासबिना प्राप्त सबै कुरा उपहार हुन्, जीवन त चाहना पनि नराखी पाइएको अमूल्य उपहार हो । निरीस्वरताको गीत गाएर ईश्वरको मृत्यु भएको घोषणा गर्ने फ्रान्ज काफ्का भन्थे, ‘वास्तविक र स्थायी मूल्य भएको कुनै पनि चिज आफैँभित्रबाट पाइएको उपहार हो । समझ विकासको पहिलो लक्षण नै मर्ने इच्छा हो । जीवनको अर्थ अवसान हो ।’
काफ्काले अवधारणा राखे– अर्जुनले अपनायो र जीवनलाई अवसानमा पुर्यायो । काफ्काले जस्तै मनका उहापोहलाई क्रिएटिभ रिलिज गर्ने अर्जुनसँग कैयन् उपाय थिए ।
काफ्का र अर्जुनको मनोसामाजिक वातावरण पनि फरक थियो । मनोचिकित्सक सिग्मण्ड फ्रायड आन्तरिक अन्तद्र्वन्द्वले अवचेत रूपमा मृत्युवृत्ति (डेथ इन्स्टिङ्ट)तर्फ धकेल्छ र आफैँप्रति आक्रामकताको निर्देशन गर्छ ।
अर्जुनले आत्मदाहलाई आन्तरिक द्वन्द्व समाधान गर्ने साधारण कार्यको साटो आत्मविनासको असामान्य बाटो उपयुक्त मान्यो । आत्महत्या अरू केही नभएर जीवनृत्ति (इरोस) मृत्युवृत्ति (थानाटोस)बाट पराजित हुनु हो ।
आत्महत्या गर्नेहरू यस अर्थमा मनोरोगी नै हुन् । यो नैतिक, आत्मिक र सजायहीन अपराध हो । आफैँप्रतिको जघन्य दण्ड हो ।
जसले जे भने पनि न उसको प्रतिक्रिया हुन्छ न त्यो ऊसम्म सम्प्रेष नै । मेरो मनमा भने अर्जुन सम्झेपछि, अझ सखारै कम्प्युटर खोल्न लाग्दा उसका दुई स्टाटसले मन ढाक्न छोडेको छैन—एउटा, उसैको आत्महत्या गर्नुअघिको र अर्को, मेरो जागिरको निवृत्तिको ।