
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर जबर्जस्ती गरे मुलुकमा द्वन्द्व हुन सक्नेतर्फ ध्यानकर्षण गराएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले राजावादीप्रति लक्षित गर्दै सत्तामा आऊजाऊ गर्न वैधानिक बाटो रहेको बताए । “हाम्रो संविधानले कसैको आगमन र बहिर्गमनका लागि वैधानिक बाटो निर्दिष्ट गरेको छ । त्यसको प्रयोग गरेर जनमतमार्फत जो पनि शासनमा आऊजाऊ गर्न सक्छन्,” उनले भने, “योभन्दा अर्को बाटो कसैले सोचेको छ र त्यसमा जबरजस्तीको प्रयास भयो भने फेरि मुलुक द्वन्द्वतर्फ उन्मुख हुनेमा हामी सबैले ख्याल गर्नुपर्छ ।”
उनले अहिलेको मुख्य एजेन्डा रूपान्तरणका बाधकहरूको अन्त्य भएको सुनाए । “अहिलेको मूल एजेन्डा रूपान्तरणका बाधक, परिवर्तनका अवरोधक र विकृतिका कारकहरूको अन्त्य हो । सुधारको सुरुवात संविधान सच्याएर गर्नुपर्छ,” उनले भने । तर, संविधान संशोधनबारे सरकारले विपक्षीसँग संवाद नै नगरेको उनले बताए ।
उनले दल नमिल्दा बिग्रिएको भन्ने भाष्य एमाले र कांग्रेस मिल्दा झन् बिग्रिएको दाबी गरे । “ती दल मिल्दा त बिग्रिँदो रहेछ । सुशानसन कायम र भ्रष्टाचार अन्त्यको त कल्पनै गर्न नसकिने अवस्थामा पुग्यो,” उनले भने ।
अर्यालले गर्भनर नियुक्ति, शिक्षकको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले सरकारले लाज ढाक्ने नसकेको टिप्पणी गरे । उनले निजी क्षेत्रमा पनि सरकारप्रति विश्वास नभएको दाबी गरे ।