site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको शक्ति प्रदर्शन : ‘युथ सेलिब्रेसन’का वक्ता कसले के भने ?

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले लोकतन्त्र दिवसको अवसरमा शक्ति प्रदर्शन गर्‍यो । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ कार्यक्रम गरेको हो । एक लाख युवा उतार्ने दाबी गरेको कार्यक्रममा युवाहरूलाई नै वक्ता बनाइएको थियो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पनि कार्यक्रममा सम्बोधन गरे । कार्यक्रममा युवा वक्ताहरूले गणतन्त्रमाथिको प्रहारलाई युवाहरूले नै परास्त गर्नुपर्नेमा जोड दिए । देशलाई कस्तो बनाउने र बनाउन सकिन्छ भन्ने आफ्नो धारणा प्रस्तुत गरे । उनीहरूले सकारात्मक सोच्नुपर्नेमा जोड दिएका हुन् ।

महाराजगञ्ज चिकित्सक क्याम्पसका निवर्तमान स्ववियु सभापति डा.आनन्द सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा भएको उपलब्धिलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए । “नेपालमा उपचारका धेरै नयाँ विधि आएको छ । विकर्सित उपकरण आएको छ । जटिल शल्यक्रिया नेपालमा नै हुने गरेको छ । एउटा ठूलो उपलब्धि हो । यसलाई आत्मसाथ गर्नुपर्छ,” उनले भने ।

विदेशी विद्यार्थी तालिमका लागि नेपाल आउनु पनि उपलब्धि भएको दाबी उनको छ । “महाराजगञ्जमा हरेक वर्ष १०–२० विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आइरहेका छन् । हजारौँको संख्यामा मेडिकल विद्यार्थी अष्ट्रेलिया, अमेरिका, बेलायत लगायतका मुलुकबाट विद्यार्थी तालिम लिन आउने गरेका छन् । यो ठूलो उपलब्धि हो,” उनी भन्छन् ।

उनले बिमाबाट उपचार पाउने थोरै देशको अभ्यास रहेको र नेपालमा धेरै लाभान्वित भइरहेको बताए । युवाहरूलाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । युवाहरूलाई राज्यको नीति बनाउने ठाउँमा गुणात्मक स्थान दिन पनि उनको आग्रह छ ।

सल्यान बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष विशाल पुनमगरले विदेश जान लागेका युवालाई स्वदेशमा नै जीवनउपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए । उनले कस्तो खालको शिक्षा दिने भन्नेमा आफ्नो मत जाहेर गरे ।

“पढेर केही हुँदैन भनेर विदेशीन लागेका युवालाई रोक्न पाठ्यक्रम जीवन उपयोगी र व्यवहारिक बनाउनेतिर लाग्नुपर्छ । जुम्लाको मार्सी उत्पादन र वितरणको पाठ्यक्रम खोज्नुपर्छ । सल्यानको अदुवा संसारभर खोज्ने बुद्धि पाठ्यक्रममा खोज्नुपर्छ,” उनले भने, “यार्सागुम्बा, शीलाजित जस्ता जडिबुटीबाट के कस्ता औषधि बनाउन सकिन्छ र विश्व बजारमा बेचेर कर्णालीको आर्थिक समृद्धि कसरी गर्न सकिन्छ भन्ने ज्ञान दिने पाठ्यक्रम खोज्नुपर्छ ।” उनले कर्णालीमा प्रकृतिले पर्यटकीय क्षेत्र चिनाउन सक्नुपर्ने धारणा राखे ।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्रमाथि भएको प्रहार युवाहरूले नै समाप्त गर्नुपर्ने बताइन् । “देशले विकासको गति लिइराख्दा विकास देख्न नसक्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्रमाथि प्रहार गरिराखेका छन् । युवा साथीहरू त्यस्ता गलत तत्व, षड्यन्त्रकारीलाई समाप्त गरी अघि बढ्नुपर्छ,” उनले भनिन् ।

पृथ्वीनारायण क्याम्पसका स्ववियु अध्यक्ष विष्णु पोखरेलले देशको अवस्था बदल्न एमाले निरन्तर लागिरहेको दाबी गरे । “अग्रज नेताहरूले यो देशको व्यवस्था बदल्नुभयो । अवस्था बदल्न एमाले निरन्तर रूपमा लागिरहेको छ,” उनको जिकिर छ ।

उनले देशैभर प्राविधिक शिक्षा दिनुपर्ने बताए । शिक्षा र स्वास्थ्य सरकारले निःशुल्क गर्नुपर्ने भनाइ उनको छ । “युवा विद्यार्थीले बाँझो जमिन जोत्न तयार हुनुपर्छ,” उनी भन्छन् ।  

छिमेकी देशका नागरिकले नेपालमा आएर मोटरसाइकल बनाउने, कवाडी संकलन गर्ने, कालोपत्र बिछ्याउने काम गरेको भन्दै ती काम नेपालीले गरेर देशमा नै पैसा रोक्नुपर्नेमा उनले जोड दिए ।  

कोटेश्वर बहुमुखी क्याम्पसकी स्ववियु अध्यक्षको उमेदवार शर्मिला भण्डारीले युवाहरूले राजनीति बुझ्न जरुरी रहेको बताइन् । युवाहरू एक भएर उठ्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफूमाथि चौतर्फी आक्रमण भइरहेको दाबी गरिन् । जतिसुकै आक्रमण भए पनि विचलित नहुने बताइन् । “अहिलेको समयमा चौतर्फी आक्रमण भएको हामी सबैले महसुस गर्न सक्छौँ । जतिसुकै आक्रमण भए पनि विचलित हुनेछैनौँ । राष्ट्र निर्माणका लागि एकजुट भएर निरन्तर अघि बढिरहनेछौँ । हामी थाक्नेछैनौँ, रोकिने छैनौँ,” उनले भनिन् ।

Sunita-Dangol-1745491488.jpg
आफू उपमेयरमा निर्वाचित भएपछि इमान्दारितापूर्वक काम गरेकाले चौतर्फी प्रशंसा हुन थालेको सुनाइन् । “मैले एमालेबाट टिकट पाएर उपमेयरमा निर्वाचित भएँ । कुनै पनि दिन, बार, समय नभनी आफ्नो जिम्मेवारी, कर्तव्यमा निष्ठावान भएर, सदैव इमान्दार भएर जनताप्रति काम गरिरहे । जनताको माझ नै उभिएर काम गरेँ । बफादार भएर काम गरेँ । त्यसकारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो । आफूले गरेको कामको सकारात्मक प्रभाव देख्न थालेँ,” उनले भनिन् ।

तर, काम गरेको देख्न नचाहनेले आफूमाथि आक्रमण सुरु गरेको दाबी गरिन् । “राष्ट्र निर्माण भएको देख्न नचाहनेहरू । काम गरेको देख्नेहरू देख्दा भतभती पोल्नेहरूका लागि मेरो कामले पोल्न थाल्यो । चौतर्फी आक्रमण गरेको मैले महसुस गर्न थालेँ,” उनी भन्छिन् ।

उनले अन्तर्राष्ट्रिय रूपमा पनि काठमाडौंको राम्रो अभ्यासको अनुभव साट्नका लागि निमन्त्रणा गरेको बताइन् । आफूले विभिन्न ठाउँमा गएर अनुभव साट्दा र सिक्दा धेरैलाई पोलेर आफूमाथि आक्रमण गरेको दाबी गरिन् ।

“जथाभावी बोल्नेलाई छेकेन । जथाभावी छेक्नेलाई छेकेन । आक्रमण गर्ने व्यक्तिहरू राष्ट्रविरोधी हुन् । राष्ट्रविरोधी तत्व सल्बलाइरहेका छन्,” उनले भनिन् ।

योङ ग्लोबल लिडर बनेर देशको शिर उचो बनाउन आफू सफल भएको बताइन् । बफादार भएर निरन्तर काम गर्ने बताइन् । त्यस्तै, उनले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति लक्षित गर्दै प्रश्न गरिन्, “स्टन्ट गरेर देश बन्छ ?” उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रवादी भएर काम गरिरहेकाले आक्रमण भइरहेको जिकिर समेत गरिन् ।

कार्यक्रममा अध्यक्ष ओली र महासचिव पोखरेलले पनि अब देश युवाले चलाउनुपर्ने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro