
काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका बारेमा चिन्ता नगर्न आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’मा उनले ०८४ को निर्वाचनको चिन्ता गर्न आग्रह गरे ।
नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले स्थायित्व दिने बताए । “यो स्थिरताका लागि बनेको सरकार हो । सरकारका बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावका बारेमा चिन्ता गर्नुपर्छ,” उनले भने ।
उनले एमालेले जहिले पनि चुनाव हेर्ने बताए । “ढुक्कले मिसन ८४ लाग्नुस्,” ओलीले निर्देशन दिए ।
ओलीले राष्ट्रवादी अडानका कारण एमालेमाथि विभिन्न पक्ष खनिएको दाबी गरे । “विभिन्न पक्ष भयभीत भएका छन् । दिनपिच्छे भ्रम फिजाउन थालेका छन्,” ओलीको भनाइ छ ।