site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले कर तथा खर्च विधेयकमा गरे हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कर तथा खर्च विधेयकमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा ह्वाइट हाउसमा आयोजित एक विशेष समारोहमा वान बिग ब्युटिफुल विधेयकमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ ।

ट्रम्पले समर्थकहरूलाई यो विधेयकले आर्थिक वृद्धि ल्याउने बताए पनि सर्वेक्षणले धेरैले विधेयकका केही पक्षलाई अस्वीकार गरेको देखाउँदा उनले अब पूर्णरूपमा विश्वास गर्न नसकेका अमेरिकीहरूलाई मनाउनुपर्ने बताइएको छ ।

यो विधेयक राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको घरेलु नीति कार्यक्रमसँग जोडिएको हो । यद्यपि, केही रिपब्लिकन सांसदहरूले समर्थन नगरे पनि यो विधेयक जुलाई ४ को समयसीमा अघि नै पारित भयो । 

विधेयक पारित गर्न घण्टौँ लामो वार्ता र छलफलपछि अन्ततः बिहीबार प्रतिनिधिसभाले २१८–२१४ मतले यसलाई पारित गरेको थियो । दुईजना रिपब्लिकन सांसदले यसविरुद्ध मतदान गरे भने एकजना पनि डेमोक्र्याले समर्थन गरेका थिएनन् ।

कुल ८७० पृष्ठको यो प्याकेजमा ट्रम्पको पहिलो कार्यकालको २०१७ को कर कटौतीलाई विस्तार, कम आय र अपांगता भएकाहरूका लागि राज्यद्वारा प्रदान गरिने स्वास्थ्य योजना मेडिकेड खर्चमा ठूलो कटौती, टिप्स आय, ओभरटाइम र सामाजिक सुरक्षा करमा नयाँ कर छुट, रक्षा बजेटमा १५० अर्ब डलरको वृद्धि, बाइडेन युगको स्वच्छ ऊर्जा कर क्रेडिटमा कटौती र आप्रवासन तथा सीमा शुल्क प्रवर्द्धनमा १०० अर्ब डलरजस्ता प्रावधानहरु रहेको बताइएको छ ।

ह्वाइट हाउसको बालकोनीबाट दक्षिणतर्फको सम्बोधनमा ट्रम्पले विधेयकलाई पास गर्न सहयोग गर्ने रिपब्लिकन सांसदहरूलाई धन्यवाद दिए । 

खाद्य सहायता र मेडिकेडजस्ता सामाजिक कार्यक्रमहरूमा पर्ने प्रभावको आलोचनालाई खारेज गर्दै उनले विधेयकमा कर कटौतीको प्रशंसा गरे । “यो सबैभन्दा ठूलो खर्च कटौती हो,” उनले भने, “तर, तपाईंले यो महसुस पनि गर्नुहुन्नँ ।” उनले जनता खुसी रहेको दाबी गरे ।  बीबीसी

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्