
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट युवामैत्री हुने दाबी गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजित ‘युथ सेलेब्रेसन’मा उनले पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने कोसिस गरिएको बताए । पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलको युवाप्रति लगाव रहेको समेत बताए ।
“युवाप्रति पार्टी अध्यक्षको लगाव छ । अब आउने नीति कार्यक्रम, बजेट युवामैत्री हुन्छ,” उनले भने, “अब राष्ट्रनिर्माणको गोरेटो पैल्याएका छौँ । युवाहरूको माध्यमबाट अघि बढ्न चाहन्छौँ ।”
उनले युवाहरू निरास हुनु नपर्ने बताउँदै युवाहरू गाउँ फर्कनुपर्ने आवश्यकता औँल्याए । उनले नेपाली समाजलाई अस्थिरतातिर लैजान चाहने तत्त्वहरूले नेतृत्वमाथि प्रहार गरिरहेको बताए ।
ओली प्रधानमन्त्री भएको समयमा नै विकास भएको पोखरेलले बताए । एमाले नेतृत्वको सरकार आएपछि ठूला आयोजना अघि बढ्न थालेको उनले दाबी गरे ।