
काठमाडौं । गर्भावस्थामा आइरनको मात्रा कम भएका महिलाहरूबाट जन्मिने बच्चामा मुटु रोग हुने सम्भावना अत्यधिक हुने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । विज्ञहरूले यो नतिजालाई एक ‘गेमचेन्जर खोज’ भएको बताएका छन् ।
पहिलोपटक शोधकर्ताहरूले गर्भावस्थाको प्रारम्भिक चरणमा एनिमिया (रक्तअल्पता) र जन्मजात हृदय रोग (कन्जेन्निटल हार्ट डिजिज) बीच सम्बन्ध पत्ता लगाएका छन् । जन्मजात हृदय रोग भनेको गर्भमै हृदय समस्या विकसित हुँदै जन्मदेखि नै रहने अवस्था हो ।
यो अध्ययनको नतिजाले ब्रिटेनमा लगभग २० मध्ये एकजनालाई हुने जन्मजात हृदय रोगको केस गर्भवती महिलाहरूमा एनिमियाको कमीको कारणले हुनसक्ने शोधकर्ताहरूले अनुमान लगाएका छन् ।
यो अवस्था जन्मदोषको प्रकारहरूमध्ये सबैभन्दा सामान्य प्रकार हो । ब्रिटेनमा औसतमा हरेक दिन १३ बच्चामा यो रोग भएको पत्ता लाग्छ र यो मृत्युको एक प्रमुख कारण पनि हो ।
ब्रिटेनमा लगभग एकचौथाइ गर्भवती महिलाहरू र विश्वमा एकतिहाइभन्दा बढी गर्भवती महिलाहरूमा एनिमिया (रक्तअल्पता) हुने अनुमान छ ।
इन्टरनेशनल जर्नल अफ अब्सटेट्रिक्स एन्ड गाइनोकोलाजीमा प्रकाशित यो नयाँ अध्ययनमा शोधकर्ताहरूले गर्भधारण गर्नुअगाडि र गर्भावस्थामा आइरनको पूरक मात्रा सेवन गर्नाले यस्तो हृदय दोष रोक्न मद्दत गर्छ वा गर्दैन भनेर पत्ता लगाउनेतर्फ काम गर्ने बताइएको छ ।
अध्ययनले १६ हजार ५०० आमाहरूको तथ्यांक विश्लेषण गरेको थियो । यो विश्लेषणले आमालाई गर्भावस्थाको पहिलो एकसय दिन (लगभग पहिलो तीन महिना)सम्ममा एनिमिया भएमा ती आमाले जन्मजात हृदय रोग भएको बच्चा जन्माउने सम्भावना सामान्यभन्दा धेरै बढी हुने सम्भावना देखाएको छ ।
अध्ययनमा एनिमिया भएका आमाहरूमा जन्मजात हृदय रोग भएको बच्चा जन्माउने सम्भावना ४७ प्रतिशत बढी पाइएको छ ।
गर्भावस्थाको पछिल्लो चरणमा गम्भीर एनिमियाले कम तौल र समय नै नपुगी बच्चा पाउने जस्ता समस्याहरू उत्पन्न गर्छ । तर, गर्भावस्थाको प्रारम्भिक अवस्थामा एनिमियालाई यस्तो समस्याको रूपमा देखिएको यो पहिलोपटक हो ।
यो अध्ययनका नेतृत्वकर्ता अक्सफोर्ड विश्वविद्यालयका एसोसिएट प्रोफेसर डन्कन स्प्यारो हुन् । ब्रिटिस हार्ट फाउन्डेसनको आर्थिक सहयोगमा उनले यो अनुसन्धान गरेका थिए । उनका अनुसार प्रारम्भिक गर्भावस्थामा आमाको एनिमियाले यति नराम्रो असर पार्न सक्छ भन्ने जानकारी प्राप्त गर्नुले विश्वमै एक क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने उनले बताए ।
उनले भने, “धेरै एनिमियाको मूल कारण आइरनको कमी नै हो, त्यसैले महिलाहरूले बच्चा जन्माउने योजना बनाउँदा र गर्भवती हुँदा आइरनको पूरक मात्रा सेवन गर्नाले धेरै नवजात शिशुहरूमा हृदय दोष विकसित हुनुभन्दा पहिले नै रोक्न मद्दत गर्न सक्नेछ ।”
अनुसन्धानकर्ताहरूले यसअघि नै मुसामा अध्ययन गरेर गर्भावस्थामा एनिमिया र जन्मजात हृदय रोगबीच सम्बन्ध पत्ता लगाएका थिए । उक्त सम्बन्ध पुष्टि गर्न उनीहरूले डाक्टरको रेकर्डबाट प्राप्त गोपनीय डाटा प्रयोग गरेर आमा र बच्चामा के भइरहेको थियो भन्ने अध्ययन गरेका हुन् । यसका लागि जन्मजात हृदय रोग भएको बच्चा जन्माउने दुई हजार सातसयभन्दा बढी आमाहरूको तथ्यांक छनोट गरिएको थियो । तिनीहरूलाई यस्तो अवस्था नभएका बच्चाका आमाहरूसँग तुलना गरिएको थियो ।
प्रत्येक गर्भावस्थाको पहिलो १०० दिनको रक्त परीक्षण नतिजा प्रयोग गरेर आमाहरूमा त्यतिबेला एनिमिया थियो कि थिएन भन्ने निर्धारण गरिएको थियो ।
जन्मजात हृदय रोग भएको बच्चा जन्माउने आमाहरूको समूहमा ४.४ प्रतिशत आमाहरूमा एनिमिया भएको पाइएको थियो। यसको तुलनामा जन्मजात हृदय रोग नभएका बच्चाका आमाहरूमा मात्र २.८ प्रतिशत मात्र एनिमिया पाइयो ।
ब्रिटिस हार्ट फाउन्डेसनका क्लिनिकल निर्देशक तथा कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सोन्याबाबु नारायणका अनुसार यदि आइरनको कमी यसको सही कारण हो भने गर्भावस्थाको प्रारम्भिक अवस्थामा जब बच्चाको मुटु बन्ने क्रममा हुन्छ आइरनको मात्रा पूर्ति गर्नाले बच्चाको आजीवन मुटु स्वास्थ्यमा यसले ठूलो सहयोग गर्न सक्नेछ ।
यो नतिजालाई पुष्टि गर्न र कुन प्रकारको जन्मजात हृदय रोग आइरनको कमीसँग जोडिएको हो भन्ने निर्धारण गर्न ठूलो अध्ययनहरू आवश्यक भएको पनि उनले बताए ।
उनका अनुसार, साधारणतया जन्मजात हृदय रोग भएको बच्चा जन्माउने जोखिम लगभग एक प्रतिशत मात्र हुन्छ । त्यसैले यो अध्ययनले देखाएको धेरै भनिएको जोखिम पनि जन्मजात हृदय रोगको पारिवारिक इतिहास नभएका व्यक्तिहरूको लागि अझै अपेक्षाकृत कम नै हो ।