
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षकहरूको माग वार्ताका माध्यमबाट नै सम्बोधन हुने बताएका छन् ।
अर्थ समितिको बुधबारको बैठकमा बोल्दै उनले विश्वमा ठूला–ठूला युद्धहरू र नेपालकै परिवेशमा १० वर्षे सशस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट टुंगिएको भन्दै शिक्षकहरूका माग पनि वार्ताबाटै टुंगिने बताए ।
उनले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरू राख्दा समाधान हुने ठाउँमा आन्दोलनमा आए पनि अब वार्ताका माध्यमबाट समस्या समाधान हुने जिकिर गरे ।
मन्त्रिपरिषद्बाट सरकारले मागहरू सम्बोधन गर्ने र शिक्षकहरूले आन्दोलन फिर्ता लिएर काममा जाने अनौपचारिक सहमति भए पनि शिक्षकहरूले त्यसअनुसार अघि नबढेको उल्लेख गरे । सरकार आगामी अधिवेशनबाट यथाशीघ्र विधेयक पारित गर्ने पक्षमा रहेको पनि बताए ।