
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेट गरेका छन् । मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका यूएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितलनिवासमा बुधबार भेट गरेका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तनविरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै स्रोतसाधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गरे ।
उनले नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै विश्व मञ्चहरूमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको बताए । नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको पनि उल्लेख गरे । जलवायु परिवर्तनबाट सिर्जित विपद्ले दुर्लभ स्रोसाधनलाई प्रतिकूलता प्रदान गरेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्समा चार लाखभन्दा बढी नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिए ।
“संयुक्त अरब इमिरेट्स चारलाख भन्दा बढी नेपालीहरूको लागि दोस्रो घरको रूपमा रहेको छ । उनीहरूले दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारका लागि जिवित पुलको रूपमा पनि काम गरिरहेका छन् । तपाईंको सुन्दर देशमा यति ठूलो संख्यामा नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद,” राष्ट्रपति पौडेलले भने ।
उनले संयुक्त अरब इमिरेट्स नेपालको चौथो ठूलो व्यापारिक साझेदार देश भएको उल्लेख गरे । “हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठूलो सम्भावनामा निजी क्षेत्रको संलग्नतालाई हामीहरूले प्रोत्साहित गर्नुपर्छ । त्यहाँका लगानीकर्ताहरूलाई कृषि, खानी, जलविद्युत्, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्र जस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित गरिदिन अनुरोध गर्दछु,” उनले भने ।
सो अवसरमा यूएईका उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाइको उच्च कदर गर्दै ती भावनालाई मार्गदर्शनका रूपमा लिने बताए । “जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाइ भइरहेको छ । तर यो मानव सिर्जित समस्या हो र हामीले भावी सन्ततिलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ,” नाह्यानको भनाइ उद्धृत गर्दै सल्लाहकार पोखरेलले बताए ।