
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा देखा परेको विवाद समाधानका लागि संघकै अग्रजहरूले मुख्य भूमिका खेल्नुपर्ने बताएका छन् ।
संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शितलनिवासमा सोमबार भएको भेटघाटमा राष्ट्रपति पौडेलले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएको जनाए ।
व्यक्तिगत वा कुनै साना समूहगत असन्तुष्टिका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने उनले बताए । “तपाईंहरूको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरूको भूमिका पनि महत्त्वपूर्ण छ । सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ,” राष्ट्रपति पौडेलले भने ।
भेटमा शेष घलेले आगामी मे महिनामा एकताको महाधिवेशनका नाममा विधानविपरीत गतिविधि गर्न लागेको जानकारी अध्यक्ष डा. केसीले राष्ट्रपतिलाई गराएका थिए ।
“हाम्रो मुख्य खम्बा भनेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) भए पनि घले समूहले एनसीसीको अधिवेशन नै नगरी आफूखुसी एकता महाधिवेशनको नाममा विधानविपरीत गतिविधि गर्न लागेको छ,” अध्यक्ष केसीले भने ।
जवाफमा राष्ट्रपति पौडेलले भने, “विधानसम्मत रूपमा विधिपूर्वक सबै काम हुनुपर्छ, त्यसैले यसमा परराष्ट्र मन्त्रालय जो यस संस्थाको तालुकदार पनि र सरकारको कार्यकारी पनि हो उसले नै मार्गप्रशस्त गर्नुपर्छ । तर जे जसो भने पनि पहिले त तपाईंहरू नै मिल्नुपर्छ । संवादमार्फत एउटा मिलनविन्दु खोज्नैपर्छ ।”
उक्त अवसरमा अध्यक्ष केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिए पनि त्यसको कार्यान्वयन नहुँदा समस्या भइरहेको बताए । यस्तो अवस्थामा अध्यादेशमा समेत कुनै नयाँ व्यवस्था नहुँदा नागरिकता कार्यान्वयनविहीन भएको उनले जनाए ।
“राष्ट्रपतिज्यू, सरकारले दिएको नागरिकता सरकारले चिन्दैन । नागरिकता प्राप्त भए पनि पाउने भनिएको कुनै पनि अधिकार हामीले उपभोग गर्न पाएका छैनौँ,” अध्यक्ष केसीले गुनासो गरे ।
जवाफमा राष्ट्रपति पौडेलले संंविधानमै भएको अधिकार सरकारले संकुचित गर्न नसक्ने बरु त्यसका लागि आवश्यक कानुन बनाउन ढिलाइ भएको हुनसक्ने उल्लेख गरे ।