site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छानबिनमा तानिए ३० शान्ति सैनिक, सेनाका प्रवक्ता भन्छन्– दोषी देखिए कारबाही हुन्छ

काठमाडौं । नेपाली सेनाले सिरियास्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (यूएनडीओएफ)बाट फर्किएका ३० जना शान्ति सैनिकमाथि छानबिन थालेको छ । चैत २१ गते सिरियाबाट फर्किएका १९७ शान्ति सैनिकमध्ये ३० जनालाई नियन्त्रणमा लिएर सेनाले सोधपुछ थालेको हो ।

“सिरियाबाट फर्किएका ३० जना शान्ति सैनिकलाई सोधपुछ गरिएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बाह्रखरीलाई भने, “पाँचजना अझै नेपाली सेनाको नियन्त्रणमा छन् । उनीहरूसँग सोधपुछ जारी छ ।”

सिरियास्थित यूएनडीओएफ मिसनमा ४४८ जना नेपाली शान्ति सैनिक थिए । तीमध्ये चैत २१ गते १९७ जना शान्ति सैनिक मिसन कमान्डर प्रमुख सेनानाी दिनेशकुमार खड्काको नेतृत्वमा नेपाल फर्किएको थियो । बाँकी शान्ति सैनिक बुधबार आएका थिए ।

प्रमुख सेनानी खड्कालगायत पाँच जनासँग अझै सोधपुछ चलिरहेको छ । उनीहरूलाई सैनिक मुख्यालय जंगी अड्डास्थित सैनिक प्रहरी गणमा राखेर सोधपुछ भइरहेको छ । 

०८१ मंसिरमा सिरियाको विद्रोही समूहले नेपाली शान्ति सैनिकमाथि आक्रमण गरेर हतियार लुटेको घटनामा सम्बन्धमा नेपाली सेनाले अहिले उनीहरूसँग सोधपुछ गरिरहेको हो ।

“यो सामान्य प्रक्रिया हो । सोधपुछ चलिरहेको छ । उनीहरूले अरूको नाम लिए भने उनीहरूलाई पनि बोलाएर सोधपुछ हुन्छ । दोषी पाइए उनीहरूमाथि कारबाही हुन्छ, नदेखिए छोडिन्छ,” सैनिक प्रवक्ता केसीले भने ।

विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत नेपाली शान्ति सैनिक विश्वका विभिन्न राष्ट्रमा खटिएका छन् । यसैक्रममा ४४८ जना सिरियास्थित यूएनडीओफ मिसनमा खटिँदै आएका छन् ।

०८१ मंसिर २२ गते यूएनडीओफ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोस्टमा हतियारधारी सिरियाली विद्रोही समूहले आक्रमण गरेको थियो । शान्ति सैनिकको चेतावनीको बाबजुद उनीहरू जबरजस्ती पोस्टमा प्रवेश गरेका थिए । उनीहरूले केही हतियार पनि लुटेका थिए । सोही घटनालाई लिएर अहिले नेपाली सेनाले उनीहरू फर्किएपछि सोधपुछ गरेको हो ।

“उक्त घटनाका सम्बन्ध संयुक्त राष्ट्रसंघ, मिसनले पनि अनुसन्धान गरेको हुनुपर्छ । तर, यो हाम्रो छुट्टै अनुसन्धान हो,” सैनिक प्रवक्ता केसीले भने, “हाम्रो तर्फबाट कुनै कमीकमजोरी भयो भएन हामीले बुझ्न खोजेका हौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro