site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्णबहादुर खड्का र गगन थापाको अनुपस्थितिले सत्तारूढ दलभित्र तरंग !

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र एमालेका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नेपाली कांग्रेसका दुईजना पदाधिकारीको अनुपस्थितिले तरंग ल्याइदिएको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको संयन्त्रको बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा अनुपस्थित रहे ।

अनुपस्थितिले संयन्त्रको बैठकमा यो विषयमा गम्भीर छलफल भयो । तर कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले गठबन्धनमा कुनै समस्या नरहेको हुँदा पछिल्लो समयमा नेताहरुका तर्फबाट सार्वजनिक भएका धारणा पनि व्यक्तिगत भएको स्पष्ट पारेका थिए ।

संयन्त्रका दुवै नेताहरु अनुपस्थित हुने जानकारीपछि कांग्रेस सभापति शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीसमेत रहेकी नेतृ आरजु राणा र मन्त्री लेखकलाई लिएर बालुवाटार गएका थिए । थापा बारामा भएको कार्यक्रम समापन गर्दै काठमाडौं फर्किएका थिए ।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार थापालाई लामो समय बालुवाटारमा पर्खिइएको थियो तर थापा गएनन् । “हामीले उहाँ आउँदै हुनुहुन्छ भनेर धेरैबेर पर्खियौँ उहाँ आउनुभएन,” बालुवाटार निकट स्रोतले जानकारी दियो ।

थापा पछिल्लो समय सरकारका कामकारबाहीप्रति आक्रामक छन् ।  

सरकारले जे नगर्नुपर्ने हो त्यही गरिरहेको बताउँदै थापा निकट स्रोतले भन्यो, “उहाँ सरकारको काम गराइप्रति पटक्कै सन्तुष्ट हुनुहुन्न ।” थापाले नीतिगत तहमा व्यापक सुधार गर्नुपर्ने, कुलमान घिसिङलाई हटाउन नहुने, शिक्षकका माग तत्कालै सम्बोधन गर्नुपर्नेलगायतका धारणा राख्दै आए पनि सरकारले बेवास्ता गरेको उनको तर्क छ ।

यसले सरकार नै समस्या पर्न लागेको हो कि भन्ने राजनीतिक वृत्तमा देखिएको चर्चालाई भने संयन्त्रको बैठकले खारेज गरिदिएको छ । बैठकपछि बाहिरिने क्रममा गृहमन्त्री लेखकले ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको बताए ।

सरकारका बारेमा केही नेताहरूले राखेका धारणा पनि व्यक्तिगत भएको उनको टिप्पणी थियो । मन्त्री लेखकले दुई शीर्ष नेता सहित कार्यदल र संयन्त्रको बैठक बसेको र यो नियमित बैठक नै बसेको स्पष्ट पारे । उनले विद्यालय शिक्षा विधेयकलाई कसरी अगाडि बढाउने र पास गराउने विषयमा सरकार गम्भीर भएको बताए ।

“यो दुई दलीय कार्यदल र संयन्त्रको नियमित बैठक हो । छलफल राम्रो भएको छ । मन्त्रिपरिषद्को बैठकले नै शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गरेको छ । थप कुरामा संवाद गरिरहेका छौं । अर्को कुरा यो सरकारको कार्यशैली राम्रैसँग अघि बढेको छ भन्ने मलाई लाग्छ ।”

बालुवाटारमा थापालाई पर्खिएका बेला प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro