
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनस्तरमा बढेको निराशा र असन्तुष्टि चिन्ताको विषय बनेको बताएका छन् । नयाँ वर्ष २०८२को शुभकामना व्यक्त गर्दै उनले आउँदो वर्ष सुनौलो र सम्झनयोग्य बन्ने विश्वास समेत उनले गरेका छन् ।
“मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा र असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो,” उनले आइतबार भिडियो सन्देशमार्फत भनेका छन् ।
१३ मिनेट २९ सेकेन्ड लामो भिडियोमा उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो वाद अरू नहुने बताएका छन् । युवाश्रमलाई देशमा नै राख्ने र आयआर्जन गर्ने वातावरण तयार गर्नुपर्ने पहिलो आवश्यकता रहेको उनको ठहर छ ।
मुलुकको सम्पूर्ण संरचनामा हेरफेरको आवश्यकता औँल्याउँदै पूर्वराजाले भनेका छन्, “स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको छ । जनभावना र चाहना बुझी मुलुकको सम्पूर्ण संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने स्पष्ट तथ्य देखिन्छ ।”
शिक्षा, स्वास्थ्य, दैनिक कामकाजका प्रणालीमा आमूल सुधार र आधुनिकीकरण अनिवार्य भएको उल्लेख गर्दै उनले सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्ने बताएका छन् ।
“हामी अस्थिरता, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता हुनेछ,” शाहले भनेका छन् ।
उनले नागरिक पलायनसँगै पुँजी पलायन भएको बताए । भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने गरी झाँगिएको उनको जिकिर छ ।
नेपाली–नेपालीबीच हिंसाको मनस्थिति नबनोस्, कुनै पनि निहुँमा ध्रुवीकृत नहोस् भन्नेमा सचेत रहेको समेत पूर्वराजा शाहले भिडियो सन्देशमा बताएका छन् ।