
काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने दाबी गरेका छन् ।
आइतबार चितवनमा भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने बताए । उहाले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे ।
प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहे पनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखिएको जिकिर गरे । उनले चौतर्फी रूपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केही न केही निकास लिएर आउने उल्लेख गरे ।
त्यस्तै, प्रचण्डले ०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले राम्रा काम गर्न, राजनीतिक दललाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकताअनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे ।