
काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट क्लबमध्ये ४४औँ स्थानमा परेको छ । यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४औँ स्थानमा परेको हो ।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब सहभागी थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ ।
एलओडी डिजे म्याग टप सयको छनोट भएर ४४औँ स्थानमा पर्न सफल भइ देशको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए । उनका अनुसार यस पटक पनि मुलुकका पाँचसय क्लब सहभागी थिए ।
“एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,” कुँवरले भने, “टप १०० को ४४ भित्र एलओड छनोट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ ।”
सयवटा उत्कृष्ट क्लबमा एलओडी पर्दा विश्वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ । विश्वको सय उत्कृष्ट क्लबमा पार्नका लागि सबैजनाको साथ सहयोग रहेको बताउँदै कुँवरले रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए ।
मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए । कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ । ४४औँ स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रस्ट पारे ।