
काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूलाई सामाजिक सुरक्षा योजना अनिवार्य गरिएको साढे दुई वर्ष भयो । विदेश जानेहरूलाई सामाजिक सुरक्षा योजनामा अनिवार्य गरिएसँगै श्रम स्वीकृत गर्दा नै उनीहरूले योगदानबापतको पहिलो किस्ता तिर्नुपर्छ ।
विदेश जान श्रम स्वीकृति गर्दा नै उनीहरूको सामाजिक सुरक्षा कोषमा जाने रकम पनि जोडिएको हुन्छ । कोषबाट प्रदान गरिने एसएसएफ आईडी पनि उनीहरूले प्राप्त गर्छन् । तर, विदेश पुगेपछि अधिकांशले कोषमा नियमित योगदान गर्दैनन् । यसरी नियमित योगदान नगर्दा उनीहरूले पाउने सेवा सुविधा पनि पाउँदैनन् ।
उनीहरूमात्र होइन, कोषबाट प्राप्त हुने सेवासुविधाबाट तिनका परिवार पनि वञ्चित हुन्छन् । सामाजिक सुरक्षा कोषमा हालसम्म १५ लाख ६४ हजार ६८६ जना आबद्ध भइसकेको कोषले जानकारी दिएको छ । तर, नियमित योगदान रकम जम्मा गर्नेहरू न्यून छन् । सामाजिक सुरक्षा कोषका निर्देशक तथा प्रवक्ता कृष्ण अधिकारीका अनुसार आबद्धमध्ये १० प्रतिशतले मात्र योगदान रकम कोषमा नियमित बुझाएका छन् ।
वैदेशिक रोजगारीमा जानेहरूले सेवा र सुविधाबारे नबुझेका कारण उनीहरूले नियमित योगदान रकम नबुझाएको हुन सक्ने अधिकारी बताउँछन् । “हामीले विदेश जाने नेपालीलाई कोषमा अनिवार्य आबद्ध गरेका छौँ । सोहीअनुसार पहिलो किस्ता आउँछ,” उनले बाह्रखरीसित भने, “तर, सबैले योगदान रकम कोषमा पठाउँदैनन् । उनीहरूलाई कोषबाट प्राप्त हुने सुविधा थाहा नभएर पनि हुन सक्छ ।”
कोषले वैदेशिक रोजगारीमा गएकाहरूलाई पेन्सन, औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजनामा आबद्ध गरेको छ । तर, यस्ता योजनाबाट लाभान्वित हुन उनीहरूले पछिल्लो ६ महिनामा तीन महिना योगदान रकम बुझाएको हुनुपर्ने प्रावधान छ ।
नियमित योगदान रकम बुझाउनेका श्रीमती गर्भवती भएर नियमित चेकजाँच गर्नुपरेमा लाग्ने खर्चको २० प्रतिशतमात्र बुझाएर काठमाडौंका नाम चलेका र उत्कृष्ट भनिएका अस्पतालमा स्वास्थ्य उपचार गर्न पाउँछन् । यसका निम्ति कोषले अस्पताल तोकिदिने गर्छ ।
काठमाडौंबाहिरका धेरै जिल्लामा भने अस्पताल तोकिएको छैन । अस्पताल नतोकिएका जिल्लामा चिकित्सकको परामर्शअनुसार लागेको खर्च कोषमा दाबी गर्न सकिन्छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमानश्रीमती र १८ वर्षसम्मका छोराछोरीले एक लाखसम्मको औषधि र स्वास्थ्यउपचार पाउँछन् ।
यतिमात्र होइन, दुर्घटना तथा असक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना पनि कोषले सञ्चालनमा ल्याएको छ । यी योजनाअन्तर्गत योगदानकर्ताको दुर्घटनामा परी उपचार गर्नुपरेको खण्डमा सात लाखसम्मको औषधि उपचार कोषको तर्फबाट हुन्छ । यसका साथै भवितव्यबाट योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १८ वर्षसम्मका छोराछोरीलाई पढाइ खर्च, पति वा पत्नी वा बाबुआमाले पेन्सन र मृतकको अन्तिम संस्कार खर्च प्राप्त गर्नेछन् ।
वैदेशिक रोजगारीमा भएका श्रमिकको शिशु जन्मिएमा शिशु स्याहार खर्चबापत न्यूनतम पारिश्रमिकबराबरको एक महिनाको रकम प्राप्त हुनेछ । न्यूनतम पारिश्रमिक भनेको १७ हजार ३०० रुपैयाँ हो । तर, यो सुविधाका बारेमा धेरैलाई थाहा छैन । यसरी थाहा नपाउँदा उनीहरू आफूले पाउने सुविधाबाट वञ्चित छन् ।
कोषले वैदेशिक रोजगार विभागसँग सहकार्य गरेर वैदेशिक रोजगराीमा जाने श्रमिकलाई योजनामा अनिवार्य आबद्ध गराइरहेको छ । ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ को दफा ४ अनुसार श्रम स्वीकृति लिँदा नै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू आबद्ध हुन्छन् ।
यो दफाको उपदफा १ मा ‘यो कार्याविधि प्रारम्भ भएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकहरू श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत भई योगदान गर्नुपर्नेछ’ भनिएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
सरकारले ०८० साउन १ गतेदेखि औद्योगिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ तोकिदिएको छ । यही तलबका आधारमा वैदेशिक रोजगारीमा गएकाहरूले कोषमा मासिक तीन हजार ६९० रुपैयाँ नौ पैसा बुझाउनुपर्ने हुन्छ । यसरी जम्मा गरिएको रकम औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना सुविधा योजनामा ७.४८ प्रतिशत जम्मा हुनेछ । बाँकी १३.८५ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा हुन्छ ।
कोषले राजदूतावाससँग मिलेर विदेशमा भएका श्रमिकलाई कोषले दिने सेवा र सुविधाको बारेमा बुझाउँदै आएको छ । यसका साथै स्थानीय तहसँगको सहकार्यमा पनि सामाजिक सुरक्षा कोषमा आबद्ध, नियमित योगदान र सुविधाका बारेमा जानकारी दिँदै आएको अधिकारी बताउँछन् ।
आगामी दिनमा उनीहरूलाई प्रभावकारी हुने गरी सेमिनार तथा प्रशिक्षण दिइने कोषको योजना छ । “कोषको उद्देश्य सबैले सहज रूपमा लाभ पाऊन् भन्ने हो,” अधिकारीले भने, “तर, वैदेशिक रोजगारीमा गएकाहरूलाई अझै बुझाउन सकिएको अवस्था छैन । कोषले वैदेशिक रोजगारीमा जानेहरूलाई सेवासुविधाका बारेमा जानकारी दिनुपर्ने आवश्यकता देखिएको छ ।”
अहिले उनीहरूलाई नै लक्षित गरी विभिन्न देशमा सेमिनारका कार्यक्रम गरिरहेको बताइएको छ ।