
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को छायांकन सुरु भएको छ । काभ्रेको पनौतीबाट सिनेमाको छायांकन आजबाट सुरु भएको हो । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।
आइतबार काठमाडौंको बूढानीलकण्ठमा चलचित्रको शुभमुहूर्त गरिएको थियो । ।
शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिएका थिए ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।
‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्ने निर्माणपक्षले जनाएको छ ।
बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन् ।
चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।
चलचित्रको छायांकन सेड्युल ४० दिनको रहेको छ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन् ।