
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्र माओवादी ‘जनयुद्ध’ छोडेर आएको बताएका छन् । आइतबार (चैत २४) केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वाग्मती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
तीन नेता बसेर सहमति गरिसकेपछि मात्र माओवादी मिसिएको उनले उल्लेख गरे । उनले आफू नेकपा (एमाले)मा रहँदा त्यति खेर साउनमा नै गणतन्त्र ल्याउने निर्णय गरेको जिकिर गरे ।
“ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यी जम्मै कुराहरू गर्ने हामी तीनजना नेता हौँ । एउटा गिरिजाप्रसाद कोइराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्डजी,” उनले भने, “पछि मात्रै हो उहाँहरू आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो ।”
कोइराला र आफूले नै सबै सहमति गरेको उनले बताए । उनले तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको सुनाए ।
“सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ,” उनले भने, “हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।”
पछिल्ला घटनाक्रमलक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे । पूर्वराजाले फर्कने इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्र रहेको र त्यसले मन शान्त भएको उनको भनाइ थियो ।
“एउटा राम्रो कुरा मैले सुनेँ । राम्रो कुरा के हो भने त्यो उनको, पूर्वराजाको सचिव एकजनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन,” उनले भने, “अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ ।”
पूर्वराजाको नाम लिएर अरूले फाइदा उठाउन खोजेको उनले बताए । उनले राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौती दिए । “अरूले पनि फाइदा उठाउन खोजेका रहेछन् । यदि, त्यो (फर्कने इच्छा नगरेको) हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु,” उनले भने, “राजनीति गर्नु छ भने पार्टी खोल्नुस् । राजनीतिक मैदानमा आउनुस् । जनताको बीचमा जानुस् । चुनावमा जितेर बहुमत ल्याउनुस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो ।”
उनले अगाडि भने, “हामीले त केपी ओलीलाई राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने मान्छे, अनुहार नै मन नपराउने मान्छे त्यही पनि राम्रो गरिदिनुस् भनिरहेका छौँ,” उनले भने, “कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ ।”
अध्यक्ष नेपालले राजाहरूले विगतमा के काम गरेर अहिले फर्काउने ? भन्दै प्रश्न गरे । उनले जनताले रोजेको व्यक्तिभन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताए । वंशको शासन कहिल्यै राम्रो नहुने उनको भनाइ छ ।
“राजालाई फर्काउने कोसिस गरिरहेका छन् । राजतन्त्रलाई फेरि नेपालमा फर्काउने कुरा गरिरहेका छन्,” उनले भने, “राजा आएर हुन्छ के ? राजाहरूले हिजो के काम गरेका थिए र उनलाई ल्याउनुपर्यो ? उनले देशको विकासलाई कुन नयाँ बाटोमा लिएर गएका थिए ?”
पूर्वराजालाई फर्काउनुको पछाडि कुनै देश बनाउने, विकास गर्ने योजना छ ? भन्दै उनले प्रश्न गरे । उनले पूर्वराजा र उनका नजिककाले देश लुट्न खोजिरहेको आरोप लगाए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले उल्लेख गरे ।
अध्यक्ष नेपालले आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिइएको भन्दै सरकारको आलोचना गरे । आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन उनले माग गरे । न्युज एजेन्सी नेपाल