
काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा ज्यान गुमाएका २९ वर्षीय सविन महर्जनको अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोष्टमार्टमपछि पशुपति आर्यघाटमा मंगलबार अन्त्येष्टि भएको हो ।
कीर्तिपुर नगरपालिका–४ निवासी महर्जनलाई एक गोली लागेको पोष्टमार्टम रिपोर्टमा खुलेको छ । अस्पतालका अनुसार सविनको दायाँ हाततर्फबाट गएको गोली पछाडिबाट निस्केको छ ।
गएको चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शनको आयोजना गरेको थियो ।
उक्त प्रदर्शन हिंस्रक बन्दा सविनसँगै एभिन्युजका ३४ वर्षीय पत्रकार सुरेश रजकको पनि घटनास्थलमै ज्यान गएको थियो । राजावादीहरूले घर जलाउँदा आगलागीमा परी रजकको मृत्यु भएको हो । उनको भने पोष्टमार्टममा ढिलाइ भएको छ । रजकलाई पनि गोली लागेको हुनसक्ने हल्ला चलेपछि चिकित्सकले उनको शरीरको एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने बताएका छन् ।
रजकका आमा–बुबा, तीन भाइ र एक दिदी छन् । यतिबेला उनकी श्रीमती सुज्यान रजक विक्षिप्त छिन् । उनको सिन्दुर राजावादी आन्दोलनले खोसिदिएको छ । रजकले आठ वर्ष पहिले सुज्यानसँग बिहे गरेका थिए ।
एभिन्युज टेलिभिजनकै अर्का पत्रकारले आगजनी भएकोे घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार हुन सकेन ।
सुरेश बितेपछि परिवारका सबै सदस्य काठमाडौं महानगरपालिका–१३, ताहचलस्थित यागलमा रहेको पुरानो घरमा आएका छन् ।
त्यस्तै, काठमाडौं–हेटौँडा रुटमा सुमो चलाउने सविन बिग्रिएको गाडी बनाउन भन्दै घरबाट निस्किएका थिए । सविनको घरमा वृद्ध बाबुआमा, आठ वर्षकी छोरी र श्रीमती छन् । सविन घरको एक्लो छोरा थिए । उनकी श्रीमती भविसा महर्जन हुन् । घरको खम्बा नै ढल्दा सिंगो परिवार शोकमा छन् । बिग्रिएको गाडी बनाउन भन्दै बल्खु हिँडेका सविनको प्राण तीनकुने आन्दोलनका क्रममा गोली लागेर गयो ।
दुवैजनाका परिवारले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । ओलीले परिवारका माग पूरा गरिदिने बचन दिएपछि शव अन्त्येष्टिका लागि परिवार राजी भएको हो । यद्यपि, प्रधानमन्त्री ओली भने मंगलबार थाइल्यान्ड प्रस्थान गरिसकेका छन् ।
परिवारले यसअघि गृहमन्त्री रमेश लेखकसँग पनि भेट गरेको थियो । मृतकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति, परिवारलाई रोजगारी र दोषीलाई कारबाहीको माग परिवारले गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, तीनकुने आन्दोलनमा प्रहरीको तर्फबाट ५८ राउन्ड गोली चलेको थियो ।
सशस्त्र प्रहरी बलका डीआईजी कुमार न्यौपानेले सशस्त्रले १८ राउन्ड गोली चलाएको जानकारी दिए । केही गोली भने घुँडामुनी लाग्ने गरी प्रहार गरिएको थियो । घातक गोलीबाहेक १९२ ब्ल्यांक राउन्ड पनि चलाएको छ ।
यसरी नै ७४६ अश्रुग्याँस प्रहार भएको छ । दुर्गा प्रसाईंको कमान्डमा भएको प्रदर्शनमा सुरक्षा निकायतर्फ ७७ र प्रदर्शनकारीतर्फ ५२ जना घाइते भएका थिए ।
प्रदर्शनलाई अराजक बनाउन तीनकुने पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रवीन्द्र मिश्र र धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीसँगै स्वागत नेपाल र शनिबार बिहानै दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडा समेत पक्राउ परेका छन् । राजावादीका ‘जनकमान्डर’ प्रसाईं भने फरार छन् । नेपाल भने हाल थुनामुक्त भइसकेका छन् ।