
काठमाडौं । रुसको सर्वोच्च अदालतले तालिबानलाई आफ्नो देशको प्रतिबन्धित आतंककारी संगठनको सूचीबाट हटाउने विषयमा यही महिनाभित्र निर्णय गर्ने भएको छ । रुसले सन् २००३ देखि तालिबानलाई आफ्नो देशको प्रतिबन्धित आतंककारी संगठनको सूचीमा राखेको छ ।
रुसको महान्यायाधिवक्ताको कार्यालयको आग्रहमा अदालतले अप्रिल १७ मा फैसला गर्न लागेको त्यहाँका विभिन्न समाचार संस्थालाई उद्धृत गर्दै द टाइम्स अफ इन्डियाले जनाएको छ ।
उक्त दिन सम्भवतः अदालतले तालिबानलाई देशको आतंककारी संगठनको सूचीबाट हटाउने निर्णय गर्नेछ ।
रुसले तालिबानलाई आतंककारी सूचीबाट नहटाए पनि सन् २०२१ मा उक्त संगठन अफगानिस्तानको शासनसत्तामा आएदेखि कूटनीतिक सम्बन्ध राख्दै आएको छ ।
गएको डिसेम्बरमा राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि संगठनले आतंककारी गतिविधि त्यागेमा अदालतले त्यस्तो सूचीबाट हटाउन सक्ने प्रावधानसहितको एक कानुन अनुमोदन गरेका थिए ।