
कालान्तरदेखि समाजको छातीमा गाडिएको छ
संस्कृतिको एक निर्धन झन्डा
जो आफ्नै मौलिक पहिचान बोकेर
समयको गतिसँगै फर्फराइरहेछ
र वर्षौंदेखि
आधुनिकताको हावाले हिर्काइरहेछ
जसको पिठ्युँमा चोट छ
सुन्दरतामा दाग छ
यति बेला
आफ्नै अस्तित्व रक्षाको अन्तिम लडाइँ लडिरहेको छ
तर, सुनिँदैन उसले दुख्यो भनेको
या हामीले सुन्न चाहिरहेका छैनौँ
संस्कृतिको अन्तिम चित्कार ?
छातीमा गाडिएको झन्डा बिर्सेर
किन हातमा पाश्चात्य संस्कृतिको
झन्डा बोक्न विवश छ समाज ?
भुलेर मेरो संस्कृति
मेरो पहिचानको मूल नारा
किन चर्को स्वरमा उच्चारण गर्छ–
दिस इज द ट्वेनटी फस्र्ट सेन्चुरी ?
फोस्रो आधुनिकताको हावाले
हल्लाइरहेछ समाजले लगाएको कोट
टाईले कसेको छ संस्कृतिको घाँटी
भर्खरै पालिस लगाएर टल्काएको कालो जुत्ताले
टेकिरहेछ परम्पराको छाती
मात्र संग्रहालयको झ्यालमा
झुन्डिएको छ एकजोडी फरियाचोली
सँगै पासो लागेर झुन्डिएको छ
पुरानो ढाकाटोपी
सहरको बाल्कोनीमा
टाँगिएको छ रुमाल रूपी वस्त्र
र चोकचोकमा चलिरहेको छ
स्वतन्त्रताको बहस अस्त्र
मात्र समाजको आँखाबाट
कहिले पोखिन्छ संस्कृति
कहिले चुहिन्छ दर्शन
उर्वर भूमिलाई
बनाएर मरुभूमि
रोप्न खोज्छ समाजले क्याक्टस
खोजिरहन्छ पानीको मूल
र रोइरहन्छ एक प्राचीन सभ्यता
अचेल गुन्जिँदैनन् पञ्चेबाजाका धुनहरू
बज्दैनन् मुर्चुंगा र बिनायोहरू
मर्किंदैनन् बारुली कम्मरहरू
देखिँदैनन् सोरठी र मारुनीहरू
पप बिटमा लट्ठ भएर
कथित माथिल्लो दर्जाधारीहरू
नापिरहेछन् कम्मरको गोलाइ
र छातीको उचाइ
र सेकाइरहेछन् कालो चस्मा लगाएर
उत्तेजित आँखाहरू
जसले बुझेका छैनन्
द्रौपदीका आँसु
र कौरवको अन्त्य !
गुनगुनाउँदै पिटबुल र साकिराका गीतहरू
भुलेर हनुमान चालिसा र गुरु वन्दनाहरू
उसले भुलिसकेको छ गायत्री मन्त्र
बिर्सिसकेको छ दसैँको आशिष्
र सोचिरहेको छ डेथ नोटको
हार्ड पन्च लिरिक्स
एक हातमा गीता बोकेर
व्याख्या गर्दै हिँड्छ गोपिनीसँगको कृष्णलीला
प्रश्न गर्छ कृष्णको चरित्रमाथि
र आफू भ्यालेन्टाइन विक भन्दै
मनाउँछ सप्ताह प्रेमको पुराण
एक आधुनिक समाजको मान्छे
बिर्सेर मुना र मदनको कथा
राधा र कृष्णको प्रेम
पारुहाङ र सुम्निमाको कहानी
फिँजाइरहेछन् प्रेमको
भ्रमित नौजाले रुमाल
विश्वासको गहिराइमाथि
एक आधुनिक समाजका प्रेमीहरू
कलात्मक सम्पदा
प्राचीन मन्दिर
मौलिक रीतिरिवाज
वेद, पुराण र ग्रन्थहरूलाई
साँची राखेर उखेल्नुपर्ने हो
विकृति, विसंगति र रूढिवादी परम्पराको जरा
तर, यति बेला संस्कृतिको
अन्तिम संस्कारको तयारीमा जुटेको छ समाज
बजाइरहेछ एकोहोरो शंख
पहिचानको लास काँधमा बोकेर
नर्क जाने राजमार्ग हुँदै
उखेलेर कालान्तरदेखिको झन्डा
निर्माण गर्दै छ समाजले
आफ्नै संस्कृतिको समाधि !