
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो कार्यालयमा आज भएको आगजनी र तोडफोडको निन्दा र भर्त्सना गरेको छ । एकीकृत समाजवादीले हिंसात्मक गतिविधिमा संलग्न राजतन्त्र समर्थकहरूलाई ‘पुनरुत्थानवादी तत्त्वले जम्मा गरेको हुल्लडबाज’का संज्ञा दिएको छ ।
सो पार्टीका महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै दिउँसो ३ः१५ बजे आफ्नो पार्टीको कार्यालयमा आक्रमण गरेर आगजनी र तोडफोड गरेको जनाएका छन् । आक्रमणबाट केन्द्रीय कार्यालयका ढोका र झ्यालहरू तोडफोड भएको, कागजात र फर्निचर जलेको बताएका छन् ।
भुसालले विज्ञप्तिमा भनेका छन्, “लुटपाट र आगजनीजस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्त्वलाई तिरस्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।”
पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाबारे आज बिहान ११ बजे नै प्रहरीलाई खबर गरिएको र आक्रमण हुन थालेपछि फेरि तुरुन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रबन्ध नगर्नु सुरक्षा प्रशासनको घोर लापरवाही भएको भुसालले आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “यसबाट सरकारले सुरक्षा प्रबन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ । हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापरवाहीको घोर निन्दा गर्दछ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा संलग्न सबै अपराधीलाई यथाशीघ्र कडा कारबाही गर्न जोडदार माग गर्दछ ।”