site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सभ्य समाजले लाज मान्नुपर्ने आन्दोलन भयो : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले तीनकुने घटनालाई सभ्य समाजले लाज मान्नुपर्ने घटना भएको भन्दै खेद प्रकट गरेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार पत्रकार सम्मेलन गरी प्रदर्शनकारीले संविधानले दिएको स्वतन्त्रताको हकको दुरुपयोग गरी अराजकता मच्चाएको बताए ।

“तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक र अराजक बन्यो । नेपालको संविधानले दिएको अधिकारको उहाँहरूले दुरुपयोग गर्नुभयो । सभ्य समाजले लाज मान्नुपर्ने किसिमको प्रदर्शन हामीले त्यहाँ देख्यौँ,” सहसचिव रिजालले भने, “आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईं भनिएको छ । उहाँले सुरक्षामा खटिएका प्रहरीलाई नै मार्ने नियतले सवारी चलाएपछि त्यहाँको वातावरण बिग्रिएको भनिएको छ ।”

उनले कमाण्डरले नै सुरु गरेपछि आन्दोलनमा अराजकता चरम भएको टिप्पणी गरे । “व्यक्तिको निजी सम्पत्ति माथि तोडफोड र आगजनी गर्ने, सञ्चार गृहमाथि तोडफोड गर्ने, अस्पतालमा तोडफोड गर्ने, घरभित्र मान्छे राखेर बाहिरबाट आगो लगाउने जस्ता घटना आज तीनकुने क्षेत्रमा भएका छन्,” रिजालले भने, “यो सभ्य समाजका लागि लाजमर्दो भएको छ ।”

उनले अराजकता मच्चाउनेका विषयमा सुरक्षा निकायले सुक्ष्म निगरानी गरेको भन्दै उनीहरूलाई कानुनी दायरामा ल्याउने बताए ।

“सबै गतिविधिको सुरक्षा निकायले सुक्ष्म निगरानी गरेको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रयास जारी राखेको छ,” तिवारीले भने, “आजै भएन भने पनि आपराधिक घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने छ ।”

अराजक प्रदर्शनका क्रममा १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते भएको उनले बताए । भौतिक क्षतिको पूर्ण विवरण भने नआइसकेको उनको भनाइ थियो ।

“तीनकुने क्षेत्रमा धेरै व्यक्तिहरूको घरमा ढुंगामुढा गरी क्षति भएको छ । केही सरकारी गाडीमा आगजनी भएको छ,” रिजालले भने, “जडिबुटी कम्पनीमा आगजनी गरिएको छ । त्यहाँ आठवटा गाडीमा आगजनी गरिएको छ । विमानस्थल क्षेत्रमा पनि आगजनी गरिएको छ । यो राजनीतिक आन्दोलन हो भनेर भन्न सकिने अवस्था छैन ।”

उनले सरकार संयमित हुँदा उनीहरू अराजक भएको भन्दै भोलिका दिनमा उनीहरूको आन्दोलनलाई आजझै सरकार संयमित भएर बस्ने अवस्था नरहेको बताए । “फेरि यस्ता घटना भएमा सरकार कठोर रूपमा प्रस्तुत हुन्छ र सहज रूपमा नियन्त्रणमा लिन्छ,” उनले भने ।

आन्दोलनका क्रमा सविन महर्जनको मृत्यु भएको भन्दै उनले दुःख व्यक्त गरे । कीर्तिपुर–४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको उनले बताए । “सबै घटनाप्रति हामी खेद प्रकट गर्दैछौँ । कानुनलाई हातमा लिने जोकसैलाई हामी कानुनी दायरमा ल्याउनेछौँ,” रिजालले भने, “नेपाली नागरिकलाई हतोत्साही नभइ शान्तिपूर्ण रूपमा दैनिक गतिविधि सञ्चालनका लागि हार्दिक अनुरोध गर्दछौँ ।”

धेरै ठूलो क्षति भएको भन्दै सरकारले क्षतिपूर्ति भने आयोजकबाटै गराउने उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro