-1743151490.jpg)
काठमाडौं । गृह मन्त्रालयले पूर्वराजाका समर्थकहरूद्वारा शुक्रबार काठमाडौंमा आयोजना गरिएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
"व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानुनी तथा घोर भर्त्सनायोग्य छन्," मन्त्रालयले भनेको छ ।
यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार हुने मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, "संविधानले सबै वर्ग, जाति, भाषा, लिंग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै छ । शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाइ हुँदैन । अतः यस प्रकारका अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई हार्दिक अपिल गर्दै कानुनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ ।"