site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘नियुक्ति’को बाटो नछेकिदिन सचिवहरूको लबिइङ !

काठमाडौं । विशिष्ठ श्रेणीका बहालवाला सचिवहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिदेखि सदस्यहरूसम्म भेट्दै ‘कुलिङ पिरियड’को प्रावधान नराख्न दबाब बढाएका छन् । 

समिति ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक’लाई अन्तिम रुप दिँदैछ । 

समितिद्वारा गठित उपसमितिले विधेयकका विवादित प्रावधानमा सहमति जुटाउँदै छ ।

मुख्यसचिव तथा सचिवहरूले एक हातले राजीनामा बुझाउँदै अर्काे हातले राजदूत या संवैधानिक नियुक्ति लिँदै अझ शक्तिशाली कुर्सीमा पुगेको दृश्य बाक्लिएपछि ‘कुलिङ पिरियड’ अर्थात् पदीय रापतापबाट ‘चिसिने समय’सम्बन्धी प्रावधान खोजिएको हो ।

प्रधानमन्त्री तथा राजनीतिक वृत्तलाई ‘खुसी पार्न सफल’ मुख्यसचिव–सचिवले संवैधानिक अंगको पदाधिकारी, राजदूतको नियुक्ति लिने गरेका छन् ।  त्यसमा अपवादबाहेक योग्य–इमान्दारभन्दा सत्ता नजिक र चाकडीमा पोख्त मानिएका विशिष्ठ श्रेणीका अधिकारीले नियुक्ति पाउँदै आएका छन् ।

विगतमा मुख्यसचिव हुँदाहुँदै लोकदर्शन रेग्मी राजदूत बन्न पुगे । 

कर्मचारीतन्त्रमा रहँदा ‘उल्लेखनीय काम’को उदाहरण स्थापित गर्न असफल रेग्मी शासकीय वृत्तलाई खुसी पार्न सफल भएकै कारण उनी बेलायतको राजदूत बने । पछि फेरि अमेरिकाको राजदूत बन्न सफल भए । भर्खरै अमेरिका पुगेर उनले कार्यभार सम्हालेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको कुर्सीबाटै प्रमुख निर्वाचन आयुक्त बन्ने अवसर मिल्यो, दिनेश थपलियालाई पनि ।  सरकारी जागिरबाट अवकाशको दिन नजिकिँदै गर्दा संवैधानिक कुर्सी मिलेको हुँदा उनलाई सरकारी गाडी छाड्नुपरेन । 

पूर्वमहालेखा परीक्षकमा पनि टंकमणि शर्मा हुन् कि हालका महालेखा परीक्षक तोयम राय सचिवको कुर्सीबाट सिधै नियुक्ति पाएका हुन् । सरकारी कुर्सीबाट संवैधानिक कुर्सीमा पुगेको यस्ता उदाहरण बढ्दै गएका छन् ।

राज्य व्यवस्था समितिले विधेयकमाथि राय लिँदै गर्दा ‘चिसिने समय’को प्रावधान राख्नैपर्ने धारणा राखेका थिए, पूर्वमुख्यचिव विमल कोइरालादेखि लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीसम्मले ।

संवैधानिक पदाधिकारी या राजदूत नियुक्तिका हकमा सरकारले विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधान राखेको थिएन । 

विधेयकमा सेवानिवृत्त सचिव/सहसचिवका हकमा अन्तरसरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रुपमा कार्य गर्न ‘पूर्व स्वीकृति’को प्रावधान राखिएको छ । जहाँ दुई वर्षसम्म ‘पूर्व स्वीकृति’को व्यवस्था राखिएको छ ।

तर, जानीबुझीकन संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति ‘बाहेक’ गरिँदै विधेयक दर्ता भएको थियो । 

यो विधेयकको मस्यौदा उच्च कर्मचारीतन्त्रबाटै कोरिएको हुँदा तिनले मन्त्रिपरिषद्लाई प्रभावित गरी विधेयक दर्ता गरेको स्पष्ट देखिन्छ । तिनले आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्न नचाहेको स्पष्ट हुन्छ । 

राज्य व्यवस्था समितिले त्यो प्रावधान राख्न खोजेपछि तिनले ‘लबिइङ’ तीव्र बनाएका हुन् । संसदीय समितिका अधिकांश सांसदहरू ‘कुलिङ पिरियड’कै पक्षमा देखिन्छन्, उनीहरूमाथि बहालवाला सचिवहरूबाट चर्काे दबाबमा परे पनि । 

संसदीय समितिका सदस्यहरू दुई वर्षदेखि पाँच वर्षसम्म ‘चिसिने अवधि’ राख्नुपर्ने पक्षमा देखिएका छन् । प्रशासन सुधार समितिले पनि दुई वर्षभन्दा बढी ‘कुलिङ पिरियड’ राख्न सरकारसँगै सिफारिश गरेको थियो ।

त्यसो त, संवैधानिक अंग पूर्व कर्मचारीले भरिने गर्छ ।  त्यहीकारण संवैधानिक अंगलाई ‘पूर्व कर्मचारी क्लब’ भन्ने गरिन्छ । अर्थात् ‘थाकेका–पाकेका’हरूको थप जागिर खाने मेलोको रुपमा लिने गरिन्छ । 

पूर्व मुख्यसचिव विमल कोइरालाले राज्य व्यवस्था समितिमै उपस्थित हुँदै संवैधानिक अंगलाई पूर्व कर्मचारीको ‘विश्रामस्थल’ भएको टिप्पणी गरेका थिए । 

उनले भनेका थिए, ‘‘जो चाकडी गर्छ, जो भनेको मान्छ, त्यसलाई अघिल्लो दिन राजीनामा गराएर भोलिपल्टै नियुक्ति दिन्छ । जो स्वाभिमान बस्छ, भ्रष्टाचारमा संलग्न भएको हुुँदैन, उसले नियुक्ति पाउँदैन ।’’

संवैधानिक अंगको पदाधिकारी भएपछि तिनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट छ वर्षसम्म उन्मुक्ति पाउँछन् ।  तिनीहरूमाथि कारबाही गर्न कि त महाभियोग लाग्नुपर्छ कि त तिनको अवकाश पर्खनुपर्छ । 

विशिष्ठ श्रेणीमा रहँदा तिनीहरूबाट सम्पादित काम कारबाही अनुचित वा भ्रष्टाचार प्रेरित रहे वा नरहेको थेग्रिन पनि समय लाग्छ नै ।  विशिष्ठ श्रेणीको पदबाट बाहिरिएको केही वर्षसम्म काम–कारबाहीमा प्रश्न नउठेको खण्डमा मात्र नियुक्तिका लागि योग्य हुने प्रावधान राख्नुपर्ने धारणा समितिमा प्रस्तुत भएका थिए ।

न्याय सेवातिर पनि त्यस्तै विकृति छ । न्याय सेवाका उच्च पद अधिकारीहरू अवकाशको मुखमा पुगेपछि न्यायाधीशका कुर्सीमा पुग्छन् । 

कर्मचारीतन्त्रमा रहँदा ५८ वर्षमात्र जागीर खान पाइन्छ भने उच्च अदालतको न्यायाधीश बन्दा ६३ वर्षसम्म सेवारत रहन पाइन्छ । अझ सर्वाेच्च अदालतकै न्यायाधीश वा संवैधानिक निकायमा नियुक्ति पाएमा ६५ वर्षसम्म आकर्षक सरकारी सुविधा भोग गर्न पाइन्छ ।

त्यहीकारण संवैधानिक नियुक्ति निम्ति पदमै हुँदा मुख्य–सचिव र विशिष्ठ श्रेणीका पदाधिकारीहरू प्रधानमन्त्री र दलीय नेतालाई खुसी पार्नेमा धून पुग्छन् । 

त्यसरी नेतृत्व वृत्तमा धाउँदै गर्दा तिनका अनुचित काम र निर्णय गर्नसमेत पछि पर्दैनन् ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली नियुक्तिमा विकृति र शासनतन्त्रका गडबडी रोक्न खातिर पनि ‘कुलिङ पिरियड’को व्यवस्था राख्नैपर्ने धारणा व्यक्त राख्छन् । ‘‘पदमा हुँदा हुँदै नेतृत्व वृत्तलाई प्रभावित गरी नियुक्ति लिने चलन बढेको छ, त्यो रोक्न पनि यो प्रावधान चाहिन्छ’’ मैनालीले बाह्रखरीसँग भने ।

मैनाली सचिवबाट अवकाश प्राप्त गरेपछि लोक सेवा आयोग अध्यक्ष बनेका थिए । तर, उनले अवकाश पाएको छ वर्षपछि मात्रै अध्यक्षमा नियुक्ति पाएका हुन् ।

उनी कम्तीमा दई वर्षे अवधि राख्दा विशिष्ठ श्रेणीका अधिकारीहरूको पदीय रापतापका ‘लिङ्केज’ टुट्ने’ बताउँछन् । 

उनी भन्छन्, ‘‘त्यो अवधि नियुक्तिका लागि मात्र होइन, परामर्शदाताका निम्ति पनि लागू हुनुपर्छ । किनभने पदमै हुँदा तिनले परामर्शदाताका निम्ति ठाउँ बनाउँछन्, अवकाशसँगै काम गर्न पुग्छन् । त्यस निम्ति कसैको नाजायज या अनुचित काम गर्ने स्थिति आउन सक्छ ।’’
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro