
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आइतबार नेसन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कविरुद्ध मैदान उत्रिनुअघि आफ्नो टोली दबाबमा रहेको बताएका छन् ।
कोपेनहेगनमा सम्पन्न खेलमा डेनमार्कका रास्मस होल्यान्डले निर्णाायक गोल गर्दा घरेलु टिमले पोर्चुगललाई १–० ले स्तब्ध बनाएको थियो । तर, दोस्रो लेगमा मैदान उत्रिनुअघि उनले घरेलु मैदानमा समर्थकको साथले नतिजा उल्ट्याउन सक्ने आशा व्यक्त गरे ।
“टोली दबाबमा छ । हामी अहिले चुनौतीपूर्ण अवस्थामा किन छौँ भने अब हामी जित्नैपर्ने हुन्छ । फुटबलको सुन्दर पक्ष भनेको नै यही हो,” आइतबार उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने , “भोलि म समर्थकलाई समर्थन जनाउन आह्वान गर्न चाहन्छु । भोलि घरेलु रंगशाला म मेरो शिर उच्च बनाएर जान चाहन्छु ।”
पोर्चुगलले अन्तिम–८ को दोस्रो लेगमा आइतबार राति डेनमार्कलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्ने तालिका छ । यो खेल नेपाली समयअनुसार आज राति १ः३० बजेदेखि सुरु हुनेछ ।