
काठमाडौं । गतवर्ष नोभेम्बरमा सुनिता विलियम्स अन्तरिक्षमा हुँदा उनको स्वास्थ्यबारे सामाजिक सञ्जालमा धेरै कुराहरू लेखिए । यी हल्लाहरूका बीचमा सुनिता विलियम्सले नोभेम्बर १२ मा न्यु इङ्गल्याण्ड स्पोट्र्स नेटवर्कसँगको एक अन्तर्वार्तामा भनिन्, “मेरो तौल घटिरहेको छ भन्ने हल्ला चलेको छ । तर यसमा कुनै सत्यता छैन । म एकदम ठीक छु ।”
नोभेम्बरको पहिलो साता न्यूयोर्क पोस्टले नासाका एक अधिकारीलाई उद्धृत गर्दै सुनिता विलियम्सको तौल घटिरहेको बताएको थियो । सुनिताले पर्याप्त क्यालोरी लिन नसकेका कारण उनको तौल घटिरहेको तर्क न्यूयोर्क पोस्टले प्रस्तुत गरेको थियो ।
न्यूयोर्क पोस्टको रिपोर्टमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख स्वास्थ्य तथा चिकित्सा अधिकारी डा. जेम्स डी. पोल्कले भनेका थिए, “यो सही होइन । म सुनितालाई विगत २० वर्षदेखि चिन्छु र म विश्वस्तताका साथ भन्न सक्छु– सुनिता पहिले जस्तै देखिन्छिन् । उनको स्वास्थ्य एकदमै ठीक छ ।”
सुनिता विलियम्स र बुच विल्मोर आठ दिनको मिसनमा गएका थिए, तर प्राविधिक समस्याका कारण मिसन नौ महिनासम्म अड्कियो । यसको अर्थ सुनिता विलियम्स र बुच विल्मोर २८६ दिन अन्तरिक्षमा बसे ।
सुनिता विलियम्स र बुच विल्मोर दुवै नासाका प्रसिद्ध अन्तरिक्ष यात्री हुन् । नासाका अनुसार मंगलबार पृथ्वीमा फर्कनुअघि उनीहरूले पृथ्वीको ४ हजार ५०० पटक परिक्रमा गरेका थिए । उनीहरूले प्रतिघण्टा १७ हजार ५०० माइलको गतिमा १२ करोड माइल यात्रा गरेका थिए । त्यसपछि मात्र उनीहरू पृथ्वीमा आइपुगेका थिए ।
तर लामो समयसम्म अन्तरिक्षमा बस्ने रेकर्ड भने रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको नाममा छ । न्यु मेक्सिको म्युजियम अफ स्पेस हिस्ट्रीका अनुसार भ्यालेरीले अन्तरिक्षमा ४३७ दिन, १७ घण्टा र ३८ मिनेट बिताएका थिए । यस अवधिमा उनले पृथ्वीको ७ हजार ७५ पटक परिक्रमा गरेका थिए ।
भ्यालेरी पोल्याकोभले मस्को इन्स्टिच्युट अफ मेडिकल एण्ड बायोलोजिकल प्रोब्लम्समा एस्ट्रोनॉटिकल मेडिसिनको अध्ययन गरेका थिए । अन्तरिक्षमा मानव शरीरमा कस्तो प्रभाव पर्छ भन्ने अध्ययनका लागि पोल्याकोभ महत्वपूर्ण मानिन्छ ।
सूक्ष्म गुरुत्वाकर्षणको प्रभाव
६२ वर्षीय बुच र ५९ वर्षीया सुनिताले लामो समयसम्म अन्तरिक्षमा बस्न पाउँदा खुसी व्यक्त गरेका छन् । दुवै जना अवकाशप्राप्त नौसेना कप्तान हुन् र उनीहरूसँग प्रशस्त अन्तरिक्षको अनुभव छ ।
सुनिता विलियम्स र बुच विल्मोर अन्तरिक्षबाट सुरक्षित रूपमा पृथ्वीमा फर्किए पनि उनीहरू अझै सामान्य जीवन बिताउन सक्षम हुने छैनन् ।
अन्तरिक्षबाट फर्केपछि व्यक्ति पूर्णरुपमा स्वस्थ्य हुन एउटा ‘रिकभरी प्रक्रिया’ बाट गुज्रनु पर्छ । यसैकारण दुबैलाई क्याप्सुलबाट सिधै स्ट्रेचरमा ल्याइयो र चिकित्सकीय निगरानीमा पठाइएको थियो ।
यो एक नियमित प्रक्रिया हो किनभने सुक्ष्म गुरुत्वाकर्षणमा मांसपेशीहरू कमजोर हुन थाल्छन्, शरीरको सन्तुलन बिग्रन्छ र शरीरमा ‘फ्लूड शिफ्ट’ हुन थाल्छ । सुक्ष्म गुरुत्वाकर्षण भनेको त्यस्तो अवस्था हो जब कुनै व्यक्ति वा वस्तु भारविहीन हुन्छ । अन्तरिक्षमा गुरुत्वाकर्षणले काम नगर्ने भएकाले अन्तरिक्ष यात्रीहरू भारविहीन हुन्छन् ।
यसको कस्तो प्रभाव पर्छ ?
विज्ञहरू भन्छन् कि लामो समयसम्म अन्तरिक्षमा बस्दा स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ । महिनौंसम्म अन्तरिक्षमा बस्दा मानव शरीर र मनोविज्ञानमा पनि परिवर्तन आउँछ ।
सबैभन्दा ठूलो परिवर्तन तब आउँछ जब अन्तरिक्ष यात्रीहरू सुक्ष्म गुरुत्वाकर्षणमा हुन्छन् । यस्तो अवस्थामा अन्तरिक्ष यात्रीहरू अन्तरिक्षयान भित्र वा बाहिर तैरिन थाल्छन् । अर्थात् तिनीहरू हावामा झुण्डिएको देखिन्छन् ।
यस अवधिमा मांसपेशीहरू प्रयोगमा नआउने हुनाले कमजोर हुन थाल्छन् । यस्तो अवस्थामा कुनै पनि व्यायाम उपकरण प्रयोग गर्न सकिँदैन ।
नासाका अनुसार, यस्तो अवस्थामा हड्डीहरू पनि कमजोर हुन थाल्छन् । हड्डीहरूले शरीरको तौल थाम्ने काम गर्छन्, तर अन्तरिक्षमा पृथ्वीका जस्तो गुरुत्वाकर्षण नहुँदा हड्डीहरूले प्रत्येक महिना औसत १ प्रतिशत देखि १.५ प्रतिशत खनिज घनत्व गुमाउँछन् ।
यसबाहेक, उचित आहार र व्यायाम बिना अन्तरिक्ष यात्रीहरूको मांसपेशी पृथ्वीको तुलनामा सूक्ष्म गुरुत्वाकर्षणमा पातलो हुन्छ । नासाले यो पनि भन्छ कि सुक्ष्म गुरुत्वाकर्षणमा रगत र सेरेब्रोस्पाइनल फ्लुइड तलबाट माथि सर्न थाल्छ । यस्तो अवस्थामा आँखा र मस्तिष्कको आकारमा परिवर्तन हुने प्रबल सम्भावना हुन्छ ।
डिहाइड्रेसन वा हड्डीबाट क्याल्सियम निस्कासन हुँदा मिर्गौलामा पत्थरी हुने जोखिम हुन्छ । लामो समयसम्म सूक्ष्म गुरुत्वाकर्षणमा रहेपछि पृथ्वीको गुरुत्वाकर्षणमा शरीरलाई तालमेल मिलाउन धेरै गाह्रो हुन्छ ।
यस्तो अवस्थामा अन्तरिक्ष यात्रीहरू पृथ्वीमा आइपुग्ने बित्तिकै चिकित्सा निगरानीमा राखिन्छन् । सुक्ष्म गुरुत्वाकर्षणबाट गुरुत्वाकर्षण आएपछि शरीरलाई सन्तुलनमा राख्नु र तदनुसार व्यवहार गर्नु एउटा कठिन परीक्षा हो ।
यसका लागि सीधा हिँड्ने, सीधा उभिने र शरीर सन्तुलन कायम राख्ने चुनौती हरेक दिन सामना गर्नुपर्छ ।
विकिरणको प्रभाव
अन्तरिक्षमा हुने विकीरण पृथ्वीमा हुने विकीरणभन्दा फरक छ । नासाका अनुसार, पृथ्वीलाई चुम्बकीय क्षेत्रले घेरिएको छ । जसलाई चुम्बकीय क्षेत्र भनिन्छ । यसले मानिसहरूलाई हानिकारक अन्तरिक्ष विकीरणबाट जोगाउँछ ।
तर जब कुनै व्यक्ति धेरै उच्च उचाइमा पुग्छ, तब उसमा विकीरणको जोखिम बढ्छ । लामो समयसम्म यो स्थितिमा बस्नुपर्दा अन्तरिक्ष यात्रीहरू विकीरणबाट पीडित हुने जोखिम बढ्छ । यस्तो अवस्थामा क्यान्सरको जोखिम बढ्छ र केन्द्रीय स्नायु प्रणाली प्रभावित हुने सम्भावना बढ्छ ।
सन् २०१७ को नासाको रिपोर्ट अनुसार, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरूले आफ्नो छ महिनाको बसाईंको क्रममा औसतमा ८० देखि १६० मिलिसिभर्ट विकीरणको सामना गर्नुपर्छ ।
तर, विकीरण फरक प्रकारको हुन्छन् । एक मिलिसिभर्ट अन्तरिक्ष विकीरण तीनवटा छातीको एक्स–रे बराबर हुन्छ । यसको तुलनामा पृथ्वीमा एक व्यक्तिले प्रतिवर्ष औसतमा दुई मिलिसिभर्ट विकीरणको सामना गरेको हुन्छ ।
नासाका अनुसार, अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइने अन्तरिक्ष यात्रीको छनोट निकै सावधानीपूर्वक गरिन्छ । उनीहरूलाई तालिम पनि यसरी दिइन्छ कि अन्तरिक्षमा गएपछि उनीहरूले कम्तीमा छ महिना वा सोभन्दा बढी समयसम्म मिसन सम्हाल्न सकुन् । अन्तरिक्षमा रहँदा व्यवहारमा परिवर्तन, थकान, तनाव र अनिद्रा हुनु सामान्य कुरा हुन् ।
रोकिएको मिसन
अन्तरिक्ष गतिविधि र सम्बन्धित अनुसन्धानमा केन्द्रित अमेरिकी एजेन्सी नासा (नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन) का अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नेपाली समयअनुसार बुधबार बिहान ३ः४५ बजे पृथ्वीमा अवतरण गरेका थिए ।
सुनिता र बुचलाई बोकेको अन्तरिक्ष यान मंगलबार साँझ (स्थानीय समय) मेक्सिकोको खाडीमा आइपुगेको थियो ।
सुनिता विलियम्स र बुच विल्मोर नासाका निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभसँगै फर्किएका थिए । उनीहरू दुवै जना स्पेसएक्स ड्र्यागन क्याप्सुलको क्रू–९ सँग थिए । मंगलबार बिहान क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग हुँदा निक हेगले भनेका थिए, “क्रू–९ घर फर्कदैछ ।”
सुनिता विलियम्स र बुच विल्मोर जुन ६ मा बोइङ स्टारलाइनर अन्तरिक्षयानको परीक्षण उडानमा अन्तरिक्षमा पुगेका थिए, तर प्राविधिक गडबडीका कारण फर्कन ढिलाइ भएको थियो ।
जुन अन्तरिक्षयानमा उनीहरू गएका थिए, उक्त यानमा गडबढी आएपछि नासाले सुनिता र बुचलाई रोकेको थियो । उक्त अन्तरिक्ष यानमा फर्काउनु सुरक्षित नहुने निर्णय नासाले गरेको थियो ।
यसपछि, नासाले यो काम स्पेसएक्सलाई सुम्पिएको थियो । स्पेसएक्सले सन् २०२० देखि आफ्नो टोलीलाई अन्तरिक्षमा पठाउँदै आएको छ । स्टारलाइनर खाली फर्कियो, तर यसको भविष्यबारेमा अझै अनिश्चितता छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकार तथा स्पेसएक्सका मालिक एलोन मस्कले दाबी गरे अनुसार दुई अन्तरिक्ष यात्रीहरू पहिले नै फर्किसकेका हुन्थे । जो बाइडेन प्रशासनले अस्वीकार गरेका कारण ढिलाइ भएको दाबी उनीहरूको छ । उनीहरूले यस्तो दाबी गरेपछि यो अभियान विवादमा परेको थियो । यद्यपि सुनिता र बुचले सुरुवाती फिर्ता योजनाबारे थाहा नभएको बताएका छन् ।
जब स्टारलाइनरमा प्राविधिक समस्याहरू देखिए तब नासाले अन्य धेरै सम्भावित विकल्पहरूमा विचार गरेको थियो । नासाका सहायक प्रशासक केन बोवर्सक्सले यस महिनाको सुरुमा एक प्रेस ब्रिफिङमा अर्को क्याप्सुल पठाउने विचार भइरहेको जनाएका थिए ।
आइतबार, सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्ष स्टेशनमा चार अन्य अन्तरिक्ष यात्रीहरूले प्रतिस्थापन गरेका थिए । उनीहरूको आगमनपछि मात्र क्रू–९ फर्कन सक्थ्यो । नासाले अन्तरिक्ष स्टेशनमा अन्तरिक्ष यात्रीहरूको अदलीबदली गरिरहन्छ ।
(बीबीसीबाट भावानुवाद)