
काठमाडौं । नेपाल कमर्स क्याम्पस (एनसीसी)मा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अध्यक्षमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का विशाल रोकाहा निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा रोकाहा एक हजार ५३ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेवि संघ)का रविन वलीले ८६० मत पाए ।
सचिवमा नेविसंघका ज्ञानु दाहाल ९९४ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकै सुशील खड्का एक हजार सात मतसहित विजयी भएका छन् ।
खसेको कुल दुई हजार २३३ मतमध्ये सदस्य पदका उमेदवार मौसम आचार्यले पपुलर मत एक हजार ९० मत प्राप्त गरेका छन् ।
विजयी हुने अन्य सदस्यहरूमा दीपककुमार यादवले ८६२, कृतिका वडालले ९०८, रिदम थापाले ८६६, अनुप कडेलले ८२०, लोकेश बढाले ८२६, रेजिना कडरियाले ८२० र रंधीर कुमार मिश्रले ८५९ मत प्राप्त गरेका छन् ।
समानुपातिकतर्फ अनेरास्ववियु (विशाल रोकाहा समूह) र नेविसंघले समान चार सिट जितेका छन् । क्रान्तिकारी र समाजवादी अनेरास्ववियूले पनि समान एक सिट जितेको छ ।
समानुपातिकमा सबैभन्दा बढी मत नेविसंघले ९८० पाएको छ । समानुपातिकमा अनेरास्ववियु (विशाल रोकाहा समूह)ले ७९८ मत पाएको छ ।