
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले दोहोरो नागरिकता स्वीकार नगरेको बताएका छन् । सोमबार (चैत ४) प्रतिनिधिसभा बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको छलफलमा सांसदहरूले राखेका सुझावबारे जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरिएको उनले उल्लेख गरे । विदेशमा बसेका नेपाली मूलका नागरिकलाई दुई वर्षका निम्ति भिसा सहुलियत दिने व्यवस्था गरिएको उनले बताए ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ पढ्नोस्–
भावनामा नडुबीकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन नेपाल राज्यले । त्यसकारण हामीले के नबुझौँ भने, गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नुपरेको ? यो कुरा तपाईं हामी यहाँ बसेका सबै माननीयज्यूहरू हुनुहुन्छ, उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रूपमा उनीहरूलाई गैरआवासीय नागरिकता प्रदान गरेको । त्यसकारणले गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ, जो नेपाली मूलको विदेशी नागरिक छ र त्यहीँ बसेको छ, जसले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ । न्युज एजेन्सी नेपाल