
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन यही चैत्र ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा हुने चरणमा रहेको प्रचारप्रसार समिति संयोजक माधवप्रसाद चौलागाईंले जानकारी दिए ।
आइतबार पत्रकार सम्मेलन गर्दै संयोजक चौलागाईंले देशभरका ७७ जिल्लाका लगभग एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुने बताए । महाधिवेशनका लागि प्रदेश अधिवेशन लगभग सम्पन्न भइसकेको उनले बताए ।
"हालसम्म ६ वटा प्रदेश, ७२ वटा जिल्लाका १६० संघीय निर्वाचन क्षेत्र ३२० प्रदेशसभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइसकेको छ," उनले भने ।
महाधिवेशनमा नेपाल सरकारले गरेको वर्गीकरण अनुसारका १० प्रकारका अपांगता भएका व्यक्तिहरू जस्तै शारीरिक अपांगता, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, स्वरबोलाइसम्बन्धी, श्रवण दृष्टिविहीन, मनोसामाजिक, हेमोफिलिया, अटिजम, बैद्धिक र बहुअपांगता तथा गाम्भीर्यताको आधारमा गरेको चार प्रकारको वर्गीकरण जस्तै पूर्णअशक्तता, अतिशक्तता, मध्यम र सामान्य अपांगता भएका व्यक्तिहरूको सहभागिता रहने उनले बताए ।
संघको विधानअनुसार ५१ जनाको कार्यसमिति रहनेछ जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिलारखुल्ला) दुईजना, महामन्त्री खुल्ला दुईजना, सदस्यहरू तीन महिलासहित खुल्ला १० जना, फरक प्रकारको अपांगताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुईजनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ । बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनीत गरिने उनले जानकारी दिए ।
संघमा प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ र कोषाध्यक्ष तथा दुईजना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने व्यवस्था छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी तीन सदस्यीय निर्देशन समिति गठन गरेको छ । १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरि कार्य प्रारम्भ गरिएको चौलागाईंको भनाइ छ ।
"यस महाधिवेशनमा सहभागी हुने लगभाग एक हजार जना प्रतिनिधिहरूलाइ दुईदिनसम्म खाना तथा बस्नेको व्यवस्था गरिनेछ । अधिवेशन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ," उनले भने ।