site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
समाजवादी मोर्चा र दुर्गा प्रसाईंले काठमाडौंमा एकैदिन प्रदर्शन गर्ने
फाइल तस्बिर ।

काठमाडौं । समाजवादी मोर्चाले गएको शुक्रबार पत्रकार सम्मेलन गर्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने घोषणा गर्‍यो । लामो सयमसम्म बस्न नसकेको मोर्चाको बैठक २७ फागुनमा बसेको थियो ।

सोही बैठकले पत्रकार सम्मेलनमार्फत चैत १५ मा काठमाडौंमा प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो । मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध प्रदर्शन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रदर्शनका लागि मोर्चाले आफ्ना भातृसंगठन अन्तर्गतका कमिटीहरूलाई जिम्मा दिइसकेको छ ।

पछिल्लोसमय मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिएको हो । फागुन २५ गते पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा शाहको स्वगतका लागि त्रिभुवन विमानस्थलको गेटमा हजारौँ समर्थकले स्वागत गरेका थिए ।

उनलाई त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्मै र्‍याली गरिएको थियो । ज्ञानेन्द्रको स्वागतका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सडकमा उत्रिएको थियो ।

जसकारण मोर्चा प्रदर्शनका लागि बाध्य भएको छ । तर, मोर्चाले प्रदर्शन तय गरेको चैत १५ मा मेडिकल व्यवसायी प्रसाईंले समेत काठमाडौंमा पूर्वराजाको पक्षमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन समेत प्रसाईंले अपिल गरेका छन् ।

राजाको समर्थनमा र मोर्चाले गणतन्त्रको पक्षमा एकैदिन प्रदर्शन गर्ने भएपछि मुठभेडको अवस्था आउनसक्ने सुरक्षा संयन्त्रहरूको आशंका छ । मोर्चामा नेकपा माओवादीसहित चारवटा पार्टी सहभागी छन् ।

सुरक्षा संयन्त्रहरूले पछिल्लोसमय पूर्वराजा समर्थकहरूको गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गरिरहेको जनाएको छ ।

प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘‘अब निर्णायक समय आउँदै छ, तयार रहौँ । यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति एक हौँ ।’’

उनले प्रदर्शनका लागि सम्पूर्ण बैंक, सहकारी, लघुवित्तपीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ताहरूलाई समेत प्रदर्शनमा आउन अपिल गरेका छन् । तर, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले भने प्रसाईंको प्रदर्शनबारे जानकारी नभएको बताए ।

उनले भने, ‘‘मोर्चाका कार्यक्रमबारे हामीले सूचना पाएका छौँ । तर, प्रसाईंका प्रदर्शनबारे हामीलाई जानकारी छैन ।’’ दुवै पक्षको प्रदर्शन एकैदिन हुने अवस्था आए उपयुक्त ठाउँमा गराउन सकिने उनको भनाइ छ ।

प्रदर्शन शान्तिपूर्ण ढंगबाट गराउन प्रहरीको तर्फ सधैँ सजकता अपनाउँदै आएको पनि खनालले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro