site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उनलाई देश निकाला गर्ने घोषणा गरेका छन् । दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले शनिबार आफ्ना राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय ‘खेदजनक’ भएको टिप्पणी गरेको छ ।

राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै शुक्रबार रुबियोले लेखेका छन्, “संयुक्त राज्य अमेरिकाका निम्ति दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान् देशमा स्वागत छैन ।”

ट्रम्पलाई उद्धृत गर्दै विदेशमन्त्री रुबियोले भनेका छन्, “इब्राहिम रसुल अमेरिकालाई घृणा गर्ने एक जातिगत राजनीतिज्ञ हुन् ।”

Argakhachi Cement Island Ad

उनले अगाडि भनेका छन्, “उहाँसँग हामीसँग छलफल गर्ने केही पनि आधार छैन र यसैले उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’का रूपमा घोषणा गरिएको छ । उहाँलाई अमेरिकामा अस्वीकार्य व्यक्ति (पर्सना नन ग्राटा) मानिनेछ ।”

कूटनीतिमा कूटनैतिक शिष्टाचारअन्तर्गत विशेष सुविधा दिइएकामा त्यसको दुरुपयोग गर्ने, कूटनीतिक मर्यादाको उल्लंघन गर्नेलाई ‘होस्ट कन्ट्री’ले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्छ ।

वासिङटन र प्रिटोरियाबीचको बढ्दो तनावको पछिल्लो घटनाक्रमका रूपमा राजदूतलाई देश निकाला गर्नु संयुक्त राज्य अमेरिकाको दुर्लभ कदम हो ।

ट्रम्पले गएको फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गरेका थिए । र, त्यहाँको कानुनको हवाला दिँदै श्वेत किसानको जमिन जफत गर्न सकिने बताएका थिए ।

गएको हप्ता ट्रम्पले दक्षिण अफ्रिकाका किसानलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिएको बताएका थिए । उनले सरकारले गोराहरूको भूमि ‘जफत’ गरिरहेको आरोप दोहोर्‍याएका थिए ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “सुरक्षाको कारणले दक्षिण अफ्रिकाबाट आएका कुनै पनि किसान परिवारलाई त्यस देशबाट पलायन हुनुपरेमा नागरिकताको द्रुत मार्गको व्यवस्था गर्दै उनीहरूलाई संयुक्त राज्य अमेरिकामा आमन्त्रित गरिनेछ ।”

दक्षिण अफ्रिकी मूलका अर्बपति एलन मस्कले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको सरकारमाथि ‘खुलेआम रंगभेदी स्वामित्वसम्बन्धी कानुन’ रहेको आरोप लगाउँदै आएका छन् । उनी ट्रम्पका निकटतम सहयोगीमध्येका एक हुन् ।

दक्षिण अफ्रिकामा भूमिको स्वामित्व एक विवादास्पद मुद्दा हो । रंगभेदको अन्त्यको तीन दशकपछि पनि अधिकांश खेतीयोग्य जमिन श्वेत समुदायकोे स्वामित्व छन् ।

गएको महिना दक्षिण अफ्रिकामा आयोजित जी–२० को एक कार्यक्रममा रामाफोसाले अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेलगत्तै उनीसँग ‘सकारात्मक’ कुराकानी भएको बताएका थिए । उक्त सुधारिएको भनिएको सम्बन्ध पछि ‘लिक’ बाहिरिएको देखिएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्