
छोरोले कतैबाट एउटा प्वाइन्ट फोर्टी फाइभ क्यालिभरको पेस्तोल ल्याउँछु भन्यो । आफ्नो लेखपढ गर्ने टेबिलमाथि उसले किताबको चाङ राखेको छ, पढ्ने होइन । अचेल हतियार बजारभरि छ्यापछ्याप्ती पाइन्छन् ।
तर, छोरोलाई मैले सोध्दा भन्यो, ‘साथीसँग मागेर ल्याउँछु ।’ को साथीसँग भनेर कोट्ट्याइयो भने ‘फलानो साथी’ मतलब ‘महेश–उमेश–राजेश जोसँग पनि’ भनेर भनिदिन सक्छ ।
उसले भनेको नामवाला साथीलाई मैले चिन्ने होइन । तर, आज छोरो पेस्तोल लिएर हिँड्ने भइसकेछ, मागेरै भए पनि । संगत त्यस्तैहरूसँग उसको । उमेरमा बरालिनुको कुरो ।
कुरो यस्तो छ, छोरी भागी घरबाट । अरूकी छोरी होइन । छोरी भएका छिमेक पनि छन् । तर, भाग्ने चाँजोपाँजो देखाई मेरै छोरी उर्मिलाले । उर्मिलालाई कसले भगाएको हो, त्यो हामीले पत्तो लगाइसक्यौँ र ऊ र उसलाई भगाउने/भाग्ने केटो समेत उनीहरू कहाँ लुकेर बसेका छन् त्यो पनि पत्तो लगाइसकिएको छ ।
यो काम छोरो दुष्यन्तले नै गरेको हो । दुष्यन्त मेरो जेठो छोरो र उर्मिलाको दाइ वा दाजु जे भने पनि । दाइ र दाजु एउटै हुन् । लेख्दा फरक र त्यसानुसार उच्चारणभेद मात्र ।
त उसैलाई खत्तम पार्ने छाँट झिकेको छ छोरोले, मागेको पेस्तोलले भए पनि । मैले पेस्तोल देखेको छैन । लोड पेस्तोल लिएर हिँड्ने होइन भनेँ, कसैलाई तर्साउन प्लास्टिककै भए पनि पुग्छ ।
पूरै छका छ गोली बहिनीलाई भगाउने केटाको छाती र पेटमा उतार्छु भन्यो । छोरो रिसाएको छ, भन्दै छ, ‘बैनीले खानदानको नाक काटी ।’ एकछिन पर्खेर फेरि भन्यो, ‘बिहे गर्ने उमेर भएको पनि थियो र ? के गर्ने बाबा !’
भन्यो, रिसको आवेग झिक्दै, ‘भेटेदेखि ठाडै गोली हानेर ठहरै पार्ने थिएँ ।’
मैले भनेँ, ‘रिस खा आफू, बुद्धि खा अरू !’ पढेलेखेको छ, यद्यपि फेल हुँदै पास हुँदै गरे पनि । थोरैमा धेरै बुझ्ने क्षमता त होला ।
ठहरै पार्ने कसलाई, बहिनीलाई कि भगाउने केटोलाई ? वा दुवैलाई ? जसलाई पनि ठहरै पारेपछि प्रहरीले छाड्ला ? मान्छे मारेपछि शान्ति पाइन्न । प्रहरी, अदालत, जेल—झमेला छ । आजीवन कारावास पनि हुनसक्छ ।
यो कुरो विचार गरेरै होला, उसले पेस्तोल मागेर ल्याउने कुरो यथावत् स्थगित राखेको राख्यै छ । सोच्दै होला, हातमा पेस्तोल लिएपछि गोली नचलाई हुन्न । रिस थामियोस् त कसलाई मार्ने वा कसमाथि गोली चलाउने सोचौँला भन्ने होला ।
उसरी ऊ साहसी होइन । सानैमा स्कुलमा केटाहरूको हातको पिटाइ खाएर रुँदै घर आउँथ्यो । घरमा बहिनीले पिट्थी र उसको भागको मिठो खानेकुरा खोसेर खाइदिन्थी । किताप–कापी झगडामा च्यातेर मिल्काइदिन्थी ।
ऊ पनि कम्ताकी थिइन । आमाले रिस उठेको बेला दुष्यन्तलाई ‘डर छेरुवा’ भनिदिन्थी । हो पनि, सानैमा छेरोटीले झन्डै मरेको थिएन । उसकी आमा मेरी पत्नी नि, पत्नी शोभा ! घरकी शोभा, गृहलक्ष्मी ।
गृहलक्ष्मी शोभा—मेरी पत्नी ! भन्दै थिई– भेटेदेखि खुकुरीले छप्काउन हुन्थ्यो । भेट्ने के ? कहाँ लुकेका छन् त्यो थाहा पाइसकिएको छ । मात्र नांगो खुकुरी वीर बलभद्रले नालापानीको युद्धमा अंग्रेजसँग लड्दा नचाउँदै निस्केझैँ जाइलाग्न मात्र बाँकी छ ।
तर, शंकास्पद यो थियो— मेरी पत्नी शोभाले खुकुरी चलाउन सक्छे ? मान्छे छप्काउन पनि धेरै आँट चाहिन्छ । मेरो प्रतिवादमा ऊ भन्न सक्थी— भरुवा बन्दुक ! ओसिएको बारुद खाँदेको भरुवा बन्दुक !
उसको भनाइ व्यंग्यार्थमा हुन्थ्यो । म बुझ्दिनथेँ । भनोस् जे भन्ने हो । बुझे पनि कामबाट लखतरान परेर घर फर्कन्थेँ । रात्रि कार्य हुँदैनथ्यो, पत्नीले मध्यरातमा जति चिमोटे पनि । त्यसैले भनिहोला— रुझेको बारुद ।
कोखमा दुई सन्तान हालिदिएकै छु । मेरो पुरुषार्थ यही हो । अब भरुवा बन्दुक भने पनि ओसिएको बारुद भने पनि । मैले त्यो अर्थ्याउनतिर लागिनँ ।
छोरी गइसकी माने लग्नेले फकाइवरि लगिसक्यो । इष्टमित्र र दाइभाइका बीच ठुटो नाक डोलाएर देखाउन सकिएको छैन । बाहिरफेर निस्किन सकिरहेका छैनौँ, घरभित्र नै छौँ ।
धेरै भयो हामी बाहिर ननिस्केको । तर, छोरी गई त कोसँग भन्ने प्रश्न बिझाउने खालको थिएन । ऊ मेरै हाकिमको छोरोसँग गएकी रहिछ । पोइल भन्न अलि सुहाएन ।
अर्काकी श्रीमती भइसकेर पछि अर्को पोइ समातेर हिँडेकी भए सायद पोइल गई भन्न सुहाउँथ्यो । भाषाको पनि एउटा मर्यादा हुन्छ । जसलाई पायो उसलाई ‘पोइल हिँडी’ भन्न नमिल्ने मेरो निष्कर्ष थियो । छोरी कन्ने केटी थिई । उसलाई पोइल गई भन्न मिल्ने लागेन ।
‘छोरी उर्मिला तिमी कहाँ छौ ? जहाँ भए पनि फर्क । तिमीलाई हामी केही गर्दैनौँ’ भन्ने विज्ञापन एकदोटा छापामा दिएर प्रचार गरेको त हो । त्यो वाक्यमुनि ‘छोरी, तिम्री आमा छोरीको सन्तापले शोकाकुल छिन्, चाँडै फर्की आऊ, आमा सिकिस्त’ भन्ने वाक्य पनि मैले नै थप्न लगाएँ ।
हुन त आमा शोभा केको चिन्तामा हुन्थी ! रिसले मुर्मुरिएर खुकुरी उधाउनतिर लागेकी थिई भन्नलाई घरमा खुकुरी नै थिएन । तर, मुड्की कसेर ‘भेटेँ भने त्यो राक्षसलाई नमारी छाड्दिनँ’ भनिरहेकी थिई । छोरी निर्दोष थिई । बिचरीलाई बरगलाए भन्थी ।
त विज्ञापन नै भनौँ न, त्यो अपिल भन्ने कि अनुरोध जुन छापामा दिइयो, त्यसमा मैले यो थपिनँ, ‘छोरी, तिमी जहाँ भए पनि सुखी रहू ।’ यो वाक्यले छोरी आफूखुसी पोइ टिपेर हिँडेकोमा हाम्रो पनि सहमति थियो भन्ने अर्थिन सक्थ्यो ।
तर, अब अर्थ न बर्थ गोविन्द गाई भन्नेतिर नलागी मैले परिवारलाई यसो भनेँ— जाऊँ न त छोरीलाई लिन, कस्ताको हातमा परिछ छोरी ? अझै नादान नै त छे ।
नादान त के हुन्थी, बीस नाघिसकेकी थिई । स्नातक पनि भइसकेकी थिई । अस्ति भर्खर स्नातक उपाधि धारण गर्दा त्यो माथि टाउकोमा स्नातक क्याप लगाएको फोटो घरको मुख्य भित्ताको ठिकबीचमा आफैँले कील ठोकेर झुन्ड्याएकी थिई ।
भनी, ‘अब अनपढ छोरीहरूका दिन गए ।’ तर अफसोस, पढेलेखेकी छोरी हिँडी हामीलाई थाहै नदिई, हाम्रो अनुमति–सहमति लिने कुरो नसोच्दा हुने भो । त्यस्तो ठानिछ । उमेरले पनि बीस नाघिसकेकी छ ।
संसद्मै बहस भएको थियो, बीस वर्षबाट घटाएर अठार पुगेकी केटी भए विवाह गर्न योग्य मानियोस् भन्ने । तर, त्यसको विधेयक नै आएन ।
मधेसका धेरै समस्यामा छन् । अठार वर्षसम्म छोरीलाई छेकेर राख्न सकिन्छ, बीस वर्ष नगरौँ भन्ने माग थियो । फासफुस भयो । गर्नेले बालविवाह गरिरहेकै छन् ।
पर नसर्दैकी कन्या दान दिएमा स्वर्गको यात्रा सुगम हुन्छ भन्ने धार्मिक विश्वासको अगाडि कानुन असहाय देखियो । फेरि, बलात्कारका मामिला पनि बढ्दै थिए, दिन दुई गुना रात चार गुना ।
राति दिसाशौच गर्न निस्केका केटीलाई मुख छोपेर लतार्दै लगेर तीनचारजनाले सामूहिक बलात्कार गरेको भयावह समाचार पनि आइरहेकै थियो । बीस वर्ष न अठार वर्ष, छोरी असहाय नै थिए ।
मुद्दामामिला गरौँ— नाबालिगलाई फकाएर भगायो, बलात्कारको मुद्दा दर्ता गरी पाऊँ भन्न पनि नहुने । हैन, म आफ्नै राजीखुसीले गएकी हुँ भनी भने हाम्रै बेइज्जत हुने काण्ड आइलाग्ने थियो ।
छोरी बीस वर्ष पुगिसकेकी थिई, शैक्षिक प्रमाणपत्र त छँदै छ । त्यसो भएमा नाक त गयो गयो, रहलपहल इज्जत पनि खाक हुने सम्भावना बलियै देखियो ।
तर, जान त गई, भाग्यले मेरै हाकिमको छोरोसँग गइछ । एक हिसाबले के भयो यो ? मैले राति निद्राहीन अवस्थामा यो सोचेँ । हाकिमले आफ्नो मातहतको मेरी छोरीलाई बुहारीको रूपमा स्वीकार गर्ला ?
छोरोलाई भन्न सक्छ, ‘रे मूर्ख, हाकिमको छोरो भएर थर्ड क्लासको गजेटेड अफिसरको छोरी भगाइस् ! त्यससँग छ के ? हरिटाटकी छोरी रोजिछस्, आफूलाई इमानदार कर्मचारी भन्छ । दुई पैसा खान सक्दैन, जान्दैन पनि । अनि, इमानदार भइटोपलेको छ । त्यस्ता निमुखाकी छोरीलाई म कसरी बुहारी भनूँ ?’
थपमा यो पनि भनेको हुनसक्छ, ‘कस्ताकस्ता सचिव–मन्त्रीका छोरी दिन आइरहेका थिए । विदेश पठाइदिने पनि भन्थे । दाइजो त कत्ति हो कत्ति, मेरो पनि भाग्य खुल्थ्यो होला ।’
भाग्य खुल्ने कुरामा म एकछिन अलमलिएँ– के मेरो पनि भाग्य खुलेको हो त ? किनभने, हाकिमको सम्धी जो हुन पाइयो । सम्धीलाई सम्धीले बराबरीको दर्जामा ल्याउने विचार पनि गर्न अनिवार्य हुन्छ, बाध्यता पनि आइलाग्छ ।
घरबाट निस्कने बेलामा छोरोले रणनीति तय गर्यो– दुई कदम अगाडि बढेपछि एक कदम पछि हट्ने । यसले दुस्मन चकित पर्छ ।
तर, आमा शोभाले भनी, ‘त्यसो होइन, ‘दुई कदम पछि हट्ने एक कदम अगि बढ्ने । दुस्मन होइनन् ती हाम्रा, तर म त छप्काउनमै छु ।’
लुकेर ठाउँ पत्तो लगाइसकिएको थियो । म र शोभा पछिपछि बस्यौँ, अलि ओझेलमा झैँ । दुष्यन्तले ढोका ढकढक्याउने, जासुसले झैँ । जासुसहरू अपराधी बसेको कोठाको ढोका कसरी ढकढक्याउँछन् त्यो स्पष्ट थिएन । छोराको नाम पनि दुष्यन्त, जासुस नम्बर वान भनेजस्तो ।
जासुसी उपन्यासको कमी छ नेपाली साहित्यमा । यो मैले अस्ति पठन संस्कृतिको विकास भन्ने समाचारमा पढेको । भनाइ थियो— जासुसी उपन्यासले पनि पठन संस्कृति बढाउन मद्दत गर्छ, जे होस् ।
ढोका ढकढक्याइयो । ढोकामा उर्मिला छोरी उभिन आई, दुष्यन्तलाई देखेपछि भनी, ‘ओइ, तँ पो ! के कामले आइस् ? भित्र आइज । के चोरझैँ ढोकामा उभिएर चियो गरिरहेछस् ?’ भित्रतिर मुख फर्काएर भनी, ‘यता हेर त शशी, तिम्रो जेठान आएको छ तिमीलाई भेट्न ।’
म र शोभा लुकिरहनुमा कुनै तात्पर्य शेष रहेन । मलाई र शोभालाई देखेपछि खुसी हुँदै भनी, मानौँ केही भएकै छैन, स्वाभाविक घटित भएको हो । ‘ममी यति धेरै दिन किन ? पापा, तपाईं त समझदार मान्छे, सबैलाई सम्झाइबुझाइ लिएर आउनुपर्थ्यो ।’
मलाई समझदार भनेकामा शोभाले आँखामुख खुम्च्याई ।
‘छोरी, तैँले यस्तो नगरेको भए हुने । बाबाले भन्दै हुनुहुन्थ्यो...’ शोभाले यति मात्र भन्न भ्याई । भन्न खोजेकी हुँदी हो, ‘तेरो बिहे हामीले नै धुमधामले गरिदिने थियौँ ।’
तर, भित्र कोठाबाट ज्वाइँ भनाउँदो शशी दुई हात जोडेर नमस्कारसहित विनम्र मुद्रामा बाहिर आयो । भन्यो, ‘क्षमा पाऊँ ।’ मान्छे ह्यान्डसम रहेछ । हामी सबै अवाक् भयौँ ।
‘सरी ममी । अपर्भmटमा यस्तो गर्नुपर्यो । शशीले भनिरह्यो– म विदेश जान्छु, म जानुभन्दा अघि केही नभए कोर्ट म्यारिज नै गरौँ । मैले नाइँ भन्ने कुरै थिएन । आई एम सरी ममी !’
छोरीले सरी भनेको सुहाएको थिएन । यसो दुई थापा आँसु मात्र झारेर मलाई माफ गर्नुस् भनेको भए सिचुएसन झन् मोहक हुने थियो । होस्, अंगेजीले जितेको जमाना छ ।
तर, छोरी हो । यो जन्मेपछि मेरो प्रमोसन भएको हो । शोभाले एउटी छोरी भए घरै उज्यालो हुने थियो भन्थी, यसलाई गर्भमा राखेको बेला । घर पनि बनाइयो काठमाडौंमै जसोतसो । पुसमाघमा पनि घाम गरिराख्ने जग्गामा ।
दाइ दुष्यन्त पनि बहिनी जन्मेपछि पढ्नतिर तल्लीन हुन लागेको थियो । छोरी लच्छिनकी हो । तर, यस्तो सर्वगुणसम्पन्न छोरी अर्कैको घर गई ।
छोरी हाँस्दै थिई । कुरा खत्तम । हामी सबैले बस्ने ठाउँ खोज्दै थियौँ, यद्यपि छोरी र ज्वाइँले हामीलाई बस्ने आसन देखाउन भ्याएका थिएनन् ।