
काठमाडौं । अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरूलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन् ।
सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियनसिपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घन्टा १८ मिनेट ५१ सकेन्डमा दौड पूरा गरिन् ।
रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्याम्पर प्राप्त गरिन् । सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए । महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गरिन् । साराह सेङ तेस्रो भइन् । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे ।
जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटीएम च्याम्पियनसिप फाइनलमा चयन भएकी छन् । रसिलाले जितपछि ओभरअलमै जित प्राप्त गर्दा निकै खुसी लागेको बताइन् । उनले व्यवस्थित रूपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरिन् ।