
काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपालले हङकङविरुद्ध ६ विकेटको जित निकालेको छ ।
बिहीबार इन्टेब्ले क्रिकेट ओभलमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । पुजा महतोले २० र कप्तान इन्दु बर्माले १८ रन थपे । हङकङका लागि इमा लाई र महेकदिप कौरले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको हङकङले निधारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रनको योगफल खडा गरेको थियो ।
हङकङकी सनजिन सहजादले ५४ रन बनाइन् । क्यारी चानले १६ र यास्मिन दास्वानीले १४ रन थपे ।
नेपालकी राजमती ऐरीले तीन विकेट लिइन् । इन्दु बर्माले दुई विकेट लिँदा इश्वरी विष्ट र पुजा महतोले समान एक विकेट लिए । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । योसँगै नेपालले चार अंक बनाएको छ ।