
काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा इंग्लिस टोली लिभरपुललाई उसैको मैदानमा निराश बनाउँदै फ्रेन्च लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) अन्तिम–८ मा प्रवेश गरेको छ ।
मंगलबार राति एन्फिल्डमा सम्पन्न खेलको दोस्रो लेगमा पीएसजीले अतिरिक्त समयसम्म १–० को अग्रता बनाएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा पीएसजी ४–१ ले विजयी भएको हो । त्यसअघि पहिलो लेगमा लिभरपुलले पीएसजीविरुद्ध उसैको मैदानमा १–० को जित निकालेको थियो ।
मंगलबारकै खेलमा बायर्न म्युनिखले बायर लेभरकुजेनविरुद्ध २–० को जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ । बायर्नले समग्रमा ५–० को जितसहित अन्तिम–८ मा स्थान बनाएको हो । यसअघि, पहिलो लेगमा बायर्नले घरेलु क्लबविरुद्ध ३–० को जित निकालेको थियो ।
यता, स्पेनिस क्लब बार्सिलोनाले पनि अन्तिम–८ मा स्थान पक्का गरेको छ । घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकाविरुद्ध ३–१ को जित निकाल्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान बनाएको हो । बार्सिलोनाले यसअघि पहिलो लेगमा बेन्फिकालाई उसैको मैदानमा १–० ले हराएको थियो ।
इटालियन क्लब इन्टर मिलान मंगलबार राति प्रतियोगिताको अन्तिम–८ मा स्थान बनाउने चौथो टोली बन्यो । इन्टरले सान सिरोमा फेयेनुर्डविरुद्ध २–१ को जित निकालेको हो । त्यसअघि इन्टरले पहिलो लेगमा फेयेनुर्डलाई उसैको मैदानमा २–० को जित निकालेको थियो ।
प्रतियोगिताको क्वार्टरफाइनलमा इन्टरले अब सेमिफाइनल प्रवेशका निम्ति जर्मन क्लब बायर्न म्युनिखविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यस्तै, पीएसजीले एस्टोन भिल्ला र क्लब ब्रागाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यता, स्पेनिस क्लब बार्सिलोनाले भने अन्तिम–८ मा लिल र बोरुसिया डर्टमन्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।