
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । मंगलबार (फागुन २७) कोसी प्रदेशसभा बैठकमा विशेष सम्बोधनका क्रममा उनले व्यवस्था परिवर्तन भएको तर अवस्था नसुध्रिएको भन्ने भाष्य गलत भएको जिकिर गरे ।
“हामी जहीँको त्यहीँ छौँ भने पनि विकासका तथ्यांकले अवस्थामा पनि ठूलो परिवर्तन भएको देखाएको छ । यी केही वर्षमा हुन नसकेका र लाग्ने काम हामीले गरेका छौँ । असाधारण काम गरेका छौँ,” उनले भने ।
उनले २० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको बताए । कोसी प्रदेशमा गरिबी निवारण ‘अलि चाँडो’ गर्न सकिने उनको भनाइ थियो ।
“यहाँ (कोसी प्रदेश) साक्षारता दर बढी भएकोले शैक्षिकस्तर थप गुणस्तर गर्न सकिन्छ,” उनले भने, “तर, कतिपय कुरामा ध्यान नपुगेको पनि देखिन्छ ।”
प्रधानमन्त्री ओलीले कृषिमा सुपरजोन, ब्लक र पकेट एरियामा ठूलो मात्रामा उत्पादन गर्ने भनिएको बताए । सरकारी जागिर थोरैले र सानो प्रतिशतले मात्र पाउने भन्दै उनले उद्यमशीलतामा जोड दिए ।
विकासका निम्ति पूर्वाधार चाहिने भन्दै उनले सडक, सञ्चार र विद्युतीकरण महत्त्वपूर्ण भएको बताए । उनले त्यही भएर आफूले मध्यपहाडीमार्ग आसपास स्मार्ट सिटी र हुलाकी राजमार्गमा पनि त्यस्तै योजना अघि सारेको सुनाए ।
औद्योगिक क्षेत्रको स्थापनाबाट रोजगारी सिर्जना गरी उत्पादन बढाउन सकिने र जनताको आर्थिक जीवनमा सुधार उनले उल्लेख गरे ।