site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नसीरूद्दीन, अनुपम र आदिललाई प्रस्ताव गरिएको चरित्र थियो ‘भूठान’मा हरिवंशले गरेको क्यारेक्टर  

काठमाडौं । चलचित्र ‘भूठान’को मुख्य भूमिकामा हरिवंश आचार्य छन् ।

अंग्रेजीमा ‘द वर्ल्डस् ह्यापिएस्ट म्यान’ नाम दिइएको चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी, बु्रस डर्नलगायत कलाकारको अभिनय छ ।

मोसन पोस्टरसँगै टिजर र एउटा गीत रिलिज गरिएको यो चलचित्र निर्माणको सुरुआती चरणमा अरू नै कलाकार थिए । सुरुमा यो चलचित्रको निर्माणपक्षले बलिउडका प्रख्यात अभिनेताद्वय नसीरूद्दीन शाह र अनुपम खेरलाई खेलाउने तयारी गरेको थियो । नसीरूद्दीन र अनुपमलाई निर्माणपक्षले स्क्रिप्ट पढ्न पनि दिएको थियो ।

निर्माणपक्षको दाबीमा विश्वास गर्ने हो भने उनीहरूले स्क्रिप्ट मन पराएका पनि थिए । “पछि मन हुँदाहुँदै पनि नसीरूद्दीन शाहले प्राविधिक कारणवश काम गर्न नसक्ने अवस्था आयो भन्नुभयो,” ‘भूठान’का निर्माता अविरल थापा भन्छन्, “त्यसपछि हामीले अनुपम खेर र आदिल हुसेनलाई पनि प्रस्ताव गरेका थियौँ । तर, बीचमा खेरसँग चलचित्रको सिर्जनात्मक प्रस्तुतिमा पुगेर कुरा अड्कियो ।”

नाटक निर्देशक विमल सुवेदी र सहनिर्माता शैलेश मैनाली मुम्बई पुगेर अनुपम खेरलाई सुरुआती सहमतिपत्रमा हस्ताक्षर पनि गराएर फर्किएका थिए ।

सिर्जनात्मक पक्षमा कुरा नमिलेको र हस्तक्षेपकारी व्यवहार बढेपछि निर्देशक विनोद पौडेलले चलचित्रको सुन्दरतालाई बिग्रन दिनुभन्दा नेपाली कलाकारसँगै काम गर्न उचित लागेर खेरसँगको अध्याय बन्द गरिदिएका थिए । 

आदिल हुसेनसँग पनि विभिन्न कारणले काम हुन नसकेको थापा बताउँछन् । बलिउड अभिनेतासँग विभिन्न कारणले काम गर्न सम्भव नभएपछि अन्ततः उनीहरूलाई प्रस्ताव गरेको भूमिकामा हरिवंशको प्रवेश भएको थियो ।

हरिवंश ‘भूठान’मा भुटानबाट नेपाल हुँदै अमेरिका पुगेका भुटानी शरणार्थीको भूमिकामा छन्, जो उमेरका हिसाबले जीवनको उत्तरार्धमा छन् । कम्तीमा एकपटक आफू जन्मिएको र हुर्किएको भूमि भुटान पुग्न चाहने चरित्रमा यो पात्र रहेको शुक्रबार साँझ सार्वजनिक गीतले संकेत गरेको छ ।

‘भूठान’ हलिउडको साग अफट्राअन्तर्गत रहेर बनाइएको पहिलो नेपाली चलचित्र हो । यो चलचित्रमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र आफ्नो थातथलो छोड्नुपर्दा घर हराएको कथा ‘भूठान’को मुख्य कथानक रहेको बताइएको छ । यसलाई गीतले पनि संकेत गरेको छ । 

‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेल निर्देशित ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । 

‘भूठान’ चलचित्र आउँदो वैशाख १२ गते प्रदर्शनमा आउँदै छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro