site stats
बाह्रखरी :: Baahrakhari
कला
‘भूठान’बाट प्रस्ताव आउँदा दयाहाङले भनेका थिए– अंग्रेजी बोल्नुपर्छ भने खेल्दिनँ 

काठमाडौं । चलचित्र ‘भूठान’मा हरिवंश आचार्यसँगै दयाहाङ राईको पनि भूमिका छ । दयाहाङ यो चलचित्रको मुख्य भूमिकामा भने छैनन् । ‘भूठान’को मुख्य भूमिकामा हरिवंश छन् । 

शुक्रबार सार्वजनिक ‘भूठान’को टिजरले पनि हरिवंश मुख्य भूमिकामा रहेको प्रष्ट पार्छ । हरिवंशको छोराको भूमिकामा दयाहाङ छन् । दयाहाङ यो चलचित्रमा यूएस आर्मीको भूमिकामा छन् । उनी जोयश पाण्डेको भाइको रूपमा यो चलचित्रमा देखिनेछन् । 

यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो । दयाहाङ पनि छायांकनका लागि अमेरिका नै गएका थिए । भुटानबाट नेपाल हुँदै तेस्रो देश मुलुक पुगेका भुटानीको कथामा यो चलचित्र बनेको छ । 

Argakhachi Cement Island Ad

प्रायः अधिकांश चलचित्रमा दयाहाङ मुख्य भूमिकामा हुन्छन् । तर, यो चलचित्रमा छोटो रोल छ । यही छोटो रोलका लागि दयाहाङ अमेरिका पुगे । 

दयाहाङले यो चलचित्रका लागि एउटा शर्त राखेका थिए । उनले अंग्रेजीमा संवाद बोल्नुपर्छ भने म काम गर्दिनँ भनेका थिए । ‘भूठान’को निर्माण स्रोतले भन्यो, “हामीले तपाईंको संवाद अंग्रेजीमा छैन भनेपछि उहाँ यो चलचित्रमा काम गर्न राजी हुनुभएको थियो ।” 

अंग्रेजीमा आफू राम्रोसँग बोल्न नसक्ने भन्दै दयाहाङले अंग्रेजीमा संवाद भए काम नै नगर्ने बताएका थिए । 

टिजरमा जोयससँग दयाहाङको छोटो संवाद सुन्न सकिन्छ जुन, नेपालीमै छ ।   

अंग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्ड अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, हलिउड अभिनेता ब्रुस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन् । 

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । 

विनोद पौडेलले चलचित्रलाई निर्देशन गरेका छन् । ‘भूठान’ वैशाख १२ गतेबाट प्रदर्शनमा आउँदै छ ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्