site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इन्भेष्टमेन्ट कम्पनीलाई नियमन गर्दै धितोपत्र बोर्ड, रेकर्ड राख्न विवरण माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई नियमन गर्ने अधिकार पाएसँगै विवरण माग गरेको छ । इन्भेष्टमेन्ट कम्पनीलाई बोर्डले नियमन गर्ने अधिकारसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय राजपत्रमा छापिएसँगै बोर्डले विवरण माग गरेको हो ।

बोर्डले शुक्रबार एक सूचना जारी गर्दै पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्तापुँजी र दश करोड रुपैयाँ अथवा सोभन्दा बढी कारोबार भएका कम्पनीलाई बोर्डमा सूचीकरण हुन आग्रह गरेको हो ।

सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डडिङ) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी यस्ता कम्पनीको नियमन गर्न बोर्डलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न इन्भेष्टमेन्ट कम्पनीलाई स्वःस्फुर्त बोर्डमा सूचीकृत हुन सूचना जारी गरिएको नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता तथा निर्देशक तोलाकान्त न्यौपानेले बताए ।

Argakhachi Cement Island Ad

“इन्भेष्टमेन्ट मात्र नभएर अन्य उद्देश्य राखी दर्ता भएका कम्पनीहरूका बारेमा कन्फ्युजन भएकाले मन्त्रिपरिषद्ले इन्भेष्टमेन्ट कम्पनीको सुपरिवेक्षण धितोपत्र बोर्डले गर्ने भनेर निर्णय गरिदिएको छ,” न्यौपानेले बाह्रखरीसित भने, “अहिले यस्ता कम्पनी बजारमा कति छन् भनेर रेकर्ड राख्न र निर्णय लागु गर्न यो सूचना जारी गरिएको हो । सूचीकरण भएपछि तालिम दिने र रेगुलेसन गर्ने काम बोर्डले गर्नेछ ।”

यस्ता कम्पनी हाल बजारमा धेरै छन् । तर, बोर्डसँग रेकर्ड छैन । बोर्डले आगामी दिनमा इन्भेष्टमेन्ट कम्पनीलक्षित नीति निर्माण गर्न सहजताका लागि पनि विवरण संकलन गर्न थालेको हो । फोर्स गरेरभन्दा स्वतः कम्पनीलाई बोर्डमा दर्ता हुन यो सूचना जारी गरिएको न्यौपाने बताउँछन् । तर, कहिलेसम्म सूचीकरण हुने भनेर मिति भने उल्लेख गरिएको छैन ।

बोर्डले कम्पनी रजिष्ट्रारको कार्यालयबाट यस्ता कम्पनीको विवरण लिन पनि सक्छ । तर, स्वयम् उपस्थिति भएर इमान्दारिताका साथ बोर्डको नीति र सरकारको लक्ष्यमा सहयोग पुर्‍याउन भन्ने बोर्डको अपेक्षा छ ।

सूचीकृत हुन के के चाहिन्छ ?
बोर्डमा सूचीकृत हुन निवेदन पत्र दिनुपर्नेछ । त्यसका साथै सञ्चालक समितिको विवरणमा नाम, ठेगाना, सम्पर्क नम्बर तथा सेयरधनीको लगत, कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाण पत्र र स्थायी लोख नम्बर दर्ताको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

यसका साथै कार्यकारी प्रमुखको विवरणमा नाम, ठेगाना, सम्पर्क नम्बर पनि बुझाउनु पर्नेछ । कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचीकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचीकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको वार्षिक कारोबार समेत खुल्ने लेखापरीक्षण भएको विवरण तथा लेखापरीक्षण प्रतिवेदन र कम्पनीको चुक्तापुँजी खुल्ने कागजात तथा विवरण धितोपत्र बोर्डमा बुझाउनु पर्नेछ ।

हाल १५० वटा योग्य संस्थागत लगानीकर्ताको रूपमा इन्भेष्टमेन्ट कम्पनी बोर्डमा दर्ता छन् । यी कम्पनी बुक बिल्डिङ प्राक्रियामा सहभागी हुन पाउँछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्