
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी 'स्पेसएक्स'को रकेट बिहीबार प्रक्षेपण गरिएको केहीबेरमै विस्फोट भएको छ । अमेरिकाको टेक्सासबाट प्रक्षेपण भएको स्टारसिप रकेट विस्फोट भएको हो, जुन मंगल ग्रहमा अन्तरिक्षयान पठाउने मिसनमा 'स्पेसएक्स'को दोस्रो असफलता हो ।
अमेरिकी अर्बपति उद्यमी एवं विश्वकै धनाढ्य एलन मस्कको कम्पनी स्पेसएक्सले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रक्षेपण प्रणाली स्टारसिप बनाएको थियो । यसको माथिल्लो भाग बिहीबार आठौँ परिक्षण उडानका क्रममा विस्फोट भएको हो ।
उक्त विस्फोटले आकाशबाट आगोको झिल्कासहितको रकेटका टुक्रा खस्नुका साथै हवाई यातायात अवरुद्ध भएको थियो । दक्षिण फ्लोरिडा र बहामास आसपासको आकाशमा साँझको समयमा यस्तो देखिएको हो ।
१२३ मिटर अग्लो रकेट एक घण्टाको उडानपछि हिन्द महासागरमाथिबाट पृथ्वीको कक्षमा पुनः प्रवेश गर्ने गरी प्रक्षेपण गरिएको थियो ।
रकेटलाई सुरुमा जमिन छोड्न प्रयोग हुने सुपर हेभी बुस्टर भने सफलतापूर्वक लन्चप्याडमा फर्किएको थियो ।
स्पेसएक्सका प्रवक्ता डान हुओटले यसअघि पनि दुर्भाग्यवश यस्तो भएको बताएका छन् ।
क्यारिबियन क्षेत्रमा रकेटका भग्नावशेष छरिएपछि अमेरिकाको संघीय उड्डयन प्रशासनले कम्तीमा साँझ ८ बजेसम्म मियामी, फोर्ट लाउडरडेल, पाम बिच र ओर्लान्डो विमानस्थलमा व्यावसायिक उडानमा रोक लगाएको थियो । केही उडान डाइभर्टसमेत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
यसअघि, गत जनवरी १६ मा पनि मंगल ग्रहमा परीक्षणका रूपमा यान पठाउने पहिलो प्रक्षेपण प्रयास असफल भएको थियो । अहिले स्पेसएक्सका लागि यो दोस्रो असफलता बनेको छ । यसले मंगल ग्रहमा मानिस पठाउने एवं त्यहाँ बस्नका लागि सुविधा निमार्ण गर्ने मस्कको योजनामा धक्का लागेको छ ।